रुसले आफ्नो सैन्य भूउपग्रहमार्फत अर्को देशको भूउपग्रहमा सम्भावित आक्रमणको अभ्यास गरेको हुनसक्ने आशंका गरिएको छ । रुसी भूउपग्रह अर्को देशको व्यावसायिक भूउपग्रहको निकै नजिक पुगेपछि अन्तरिक्ष सुरक्षालाई लिएर चिन्ता बढेको हो । रुसको सैन्य भूउपग्रह ‘कोसमोस २६१२’ गत अक्टोबरमा फिनल्यान्डको कम्पनी आईसआई द्वारा सञ्चालित ‘एक्स ३६’ नामक भूउपग्रहको अत्यन्त नजिक पुगेको थियो ।
उक्त रुसी भूउपग्रह लक्ष्य भूउपग्रहबाट करिब एक किलोमिटरको दूरीमा पुगेको र केही समय त्यसको नजिकै रहेर गतिविधि गरेको बताइएको छ । अमेरिकी अन्तरिक्ष सुरक्षा विश्लेषक ग्रेग गिलिङ्गरले रुसी भूउपग्रहको उक्त गतिविधि सम्भावित आक्रमणको पूर्वाभ्यास हुनसक्ने बताएका छन् । कुनै अर्को भूउपग्रहको यति नजिक पुग्नु सामान्य निगरानीभन्दा फरक गतिविधि हुनसक्छ । फिनल्यान्डको कम्पनी आईसआईले सञ्चालन गरेको एक्स ३६ भूउपग्रहले राडारमार्फत पृथ्वीको सतहका तस्बिर तथा जानकारी संकलन गर्छ ।
यसबाट प्राप्त तथ्यांक युक्रेनसहित विभिन्न पश्चिमी देशका सरकार तथा सुरक्षा निकायले समेत प्रयोग गर्दै आएका छन् । यस घटनापछि थप दुई रुसी सैन्य भूउपग्रह अर्को आईसआई भूउपग्रह एक्स ३७ को कक्षतर्फ अघि बढिरहेको बताइएको छ । यसले पश्चिमी देशका भूउपग्रहको सुरक्षाबारे थप चासो उत्पन्न गरेको छ ।
जर्मनीका अन्तरिक्ष सुरक्षा प्रमुख माइकल ट्राउटले भूउपग्रहहरू नजिकिनुलाई मात्र आक्रमणको तयारीको प्रमाण मान्न नसकिने बताएका छन् । गतिविधि निगरानी, निरीक्षण वा सञ्चारमा अवरोध पु¥याउने उद्देश्यले पनि हुनसक्ने उनको भनाइ छ । रुसको यस गतिविधिबारे रुसी रक्षा मन्त्रालयले रोयटर्सको प्रश्नमा तत्काल प्रतिक्रिया दिएको थिएन । घटनाले भविष्यमा अन्तरिक्ष क्षेत्रमा समेत शक्ति राष्ट्रबीचको प्रतिस्पर्धा र सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता थपेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया