लगातार तेस्रो जितसँगै लुम्बिनी लायन्सको प्लेअफ यात्रा बलियो

52 Shares

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । यस जितसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना थप बलियो बनेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३३ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका लागि कप्तान हरमीत सिंहले सर्वाधिक ३३ रन बनाए । आदित्य महताले ३० र सइफ हसनले २८ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । लुम्बिनीको बलिङमा डार्सी सटले तीन विकेट लिए भने शेर मल्ल र तिलक भण्डारीले समान दुई विकेट हात पारे । रुबेन ट्रम्पेलम्यानले पनि एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सात विकेटको क्षतिमा १४९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । निरोशन डिकवेलाले २७ र दिलीप नाथले २५ रन बनाए । जनकपुरका बलर विशाल सुस्लिङ र राहुल यादवले समान दुई विकेट लिए ।

जितसँगै लुम्बिनीले चार खेलबाट सात अंक जोडेको छ । टोलीले तीन खेलमा जित निकाल्दा एक खेल वर्षाका कारण बराबरीमा टुंग्याएको थियो । यस सिजन अहिलेसम्म अपराजित रहेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ । यता जनकपुरको भने पाँच खेलमा यो तेस्रो हार हो । लगातार राम्रो बलिङ र सामूहिक प्रदर्शन गरिरहेको लुम्बिनीले यस जितसँगै प्लेअफको सम्भावना थप मजबुत बनाएको छ ।