ट्रम्पको १० अर्ब डलरको मानहानि मुद्दा अदालतद्वारा खारेज, वाल स्ट्रिट जर्नललाई कानुनी राहत

57 Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलविरुद्ध दायर गरेको १० अर्ब अमेरिकी डलरको मानहानि मुद्दा अमेरिकी संघीय अदालतले खारेज गरेको छ । अदालतको पछिल्लो फैसलासँगै उक्त मुद्दा पुनः दायर गर्न नपाइने भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित संघीय अदालतका न्यायाधीश ड्यारिन गेल्सले ट्रम्पले सञ्चारमाध्यमले जानाजानी गलत सूचना प्रकाशित गरेको वा सत्यताप्रति लापरबाही गरेको प्रमाण पर्याप्त रूपमा प्रस्तुत गर्न नसकेको ठहर गरेका छन् ।

सार्वजनिक पदमा रहेका व्यक्तिले मानहानिको मुद्दा जित्न यस्तो कानुनी मापदण्ड पूरा गर्नुपर्ने अमेरिकी कानुनमा व्यवस्था छ । यो विवाद सन् २०२५ जुलाईमा वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एउटा समाचारबाट सुरु भएको थियो ।

समाचारमा ट्रम्पले सन् २००३ मा यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनको ५०औँ जन्मदिनका लागि तयार पारिएको विशेष एल्बममा आपत्तिजनक सन्देशसहितको पत्र पठाएको उल्लेख गरिएको थियो ।

ट्रम्पले उक्त पत्र आफूले नलेखेको भन्दै समाचारलाई असत्य र मानहानिकारक दाबी गरेका थिए । यसअघि पनि अदालतले ट्रम्पको पहिलो उजुरी खारेज गर्दै संशोधित उजुरी पेस गर्ने अवसर दिएको थियो । तर दोस्रो पटकको उजुरीमा पनि आवश्यक कानुनी आधार नपुगेको भन्दै न्यायाधीशले मुद्दा अन्तिम रूपमा खारेज गरेका हुन् ।