फ्रान्समा महँगी र सरकारी नीतिविरुद्ध उत्रिए ३ लाख २० हजार नागरिक, विभिन्न सहरमा झडप

49 Shares

बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र कमजोर सार्वजनिक सेवाको विरोधमा फ्रान्समा ३ लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । अक्टोबर ३१ मा भएको देशव्यापी प्रदर्शन लगातार तेस्रो सातासम्म जारी रहेको हो । फ्रान्सको गृह मन्त्रालयले प्रदर्शनमा देशभर करिब ३ लाख २० हजार मानिस सहभागी भएका थिए। राजधानी पेरिसमा मात्रै ७० हजार मानिसले प्रदर्शन गरेका थिए ।

तर युवा संगठन तथा विद्यार्थी समूहहरूले भने देशभर करिब ५ लाख मानिस सहभागी भएको दाबी गरेका छन् । प्रदर्शनमा उच्च महँगी, इन्धनको मूल्यवृद्धि, बढ्दो आर्थिक असमानता तथा विद्यालयको कमजोर अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । सुरुमा विद्यालयमा शिक्षक अभाव, कमजोर भौतिक संरचना र विश्वविद्यालय भर्ना प्रक्रियामा देखिएको असमानताविरुद्ध सुरु भएको आन्दोलनमा पछि ट्रेड युनियन र अन्य समूहसमेत जोडिएका हुन् ।

अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि पेरिस, लियोन, मार्सेई र टुलुजलगायत सहरमा केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले अश्रुग्यास प्रयोग गर्नुका साथै केही स्थानमा पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनलाई नियन्त्रणमा राख्न देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसअघि अक्टोबर १७ मा भएको प्रदर्शनमा ५ लाख ५० हजार र अक्टोबर २४ मा ४ लाख १० हजार मानिस सहभागी भएको सरकारी तथ्यांक थियो । पछिल्लो प्रदर्शनमा सहभागी संख्या घटे पनि सरकारप्रतिको असन्तुष्टि भने कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।