कृत्रिम बौद्धिकता (एआई) को विकासलाई प्रभावकारी, सुरक्षित र विश्वव्यापी बनाउन खुला सहकार्य तथा डिजिटल साझेदारी आवश्यक रहेको विज्ञहरूले बताएका छन् । चीनको झेजियाङ प्रान्तस्थित वुझेनमा आयोजित सन् २०२६ को विश्व इन्टरनेट सम्मेलनमा सहभागी प्रतिनिधिहरूले प्रविधिको विकासमा सबै देशबीच सहकार्य, ज्ञानको आदानप्रदान र सामूहिक नवप्रवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।
‘खुला स्रोत र खुलापन, संयुक्त योगदान र साझा लाभ’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा १३८ देश तथा क्षेत्रका करिब एक हजार ८०० प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बोल्दै जीएसएमएका अध्यक्ष जोन हफम्यानले खुला प्रविधि र खुला स्रोतको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको बताए ।
प्रविधिको विश्वव्यापी प्रयोगले उत्पादन लागत घटाउनुका साथै उद्योगको विकासलाई तीव्रता दिएको उनको भनाइ रहेको छ । यूक्लाउड टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत जी सिन्ह्वाले एआईको तीव्र विकाससँगै यसको सुरक्षा, नियमन र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । मानव र कृत्रिम बुद्धिमत्ताबीच सहकार्य तथा सहअस्तित्व कायम गर्न स्पष्ट नीति, कानुन र दीर्घकालीन योजनाको आवश्यकता रहेको उनले औँल्याए ।
सम्मेलनमा एआई सुरक्षा, खुला स्रोत प्रविधि, डिजिटल सहकार्य र साइबर क्षेत्रको भविष्यका विषयमा छलफल भइरहेको छ । सहभागीहरूले प्रविधिको विकासबाट प्राप्त हुने लाभ सबैले साझा रूपमा उपभोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया