प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि संसदीय सुनुवाइ हुने

48 Shares

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा २८ वटा उजुरी परेका छन् । समितिका सभापति बोधनारायण श्रेष्ठले बिहीवार बसेको बैठकमा उक्त जानकारी दिएका हुन् । सभापति श्रेष्ठले डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध छ, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका छन् ।

चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले निवेदन दिएका छन् । तीमध्ये पाँच जनाले सबै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएका छन् । समितिले शुक्रबार बिहान उजुरीकर्तालाई बोलाएर उजुरीको आधार र औचित्यबारे छलफल गर्ने निर्णय गरेको छ । त्यसपछि प्रस्तावित न्यायाधीश बागचन्द र सारुसँग सुनुवाइ गरिनेछ ।

शनिबार जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाइ गर्ने कार्यतालिका तय गरिएको छ । संसदीय सुनुवाइका लागि तोकिएको ४५ दिने समयसीमा नजिकिँदै गएको र चाडपर्वको बिदासमेत रहेकाले तिहारअघि नै प्रक्रिया टुंग्याउने तयारी समितिले गरेको हो ।