पूर्वाधार विकासमा निजी लगानीबिना ठूलो उपलब्धि सम्भव छैन ः अर्थमन्त्री वाग्ले

47 Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासलाई तीव्रता दिन निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । सरकारको बजेट र राजस्वबाट मात्रै देशको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने अर्थमन्त्री डा. वाग्लेको भनाइ रहेको छ ।

बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै मन्त्री वाग्लेले निजी पुँजी परिचालन नगरी पूर्वाधार विकासमा अपेक्षित छलाङ मार्न नसकिने बताए । चालु आर्थिक वर्षमा सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याए पनि पूर्वाधार क्षेत्रका मन्त्रालयका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।

त्यसैले सडक, ऊर्जा तथा अन्य ठूला आयोजना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने उनले बताए । मन्त्री वाग्लेले सबै विकासका काम सरकारले नै गर्नुपर्छ भन्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हाइब्रिड एन्युटी मोडेल कार्यान्वयन गर्ने तयारी गरेको र वैकल्पिक विकास वित्त कोषसम्बन्धी ऐनसमेत पारित भइसकेको जानकारी दिए ।

उक्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया दुईदेखि चार हप्ताभित्र अघि बढाइनेछ ।