रुसको नयाँ आणविक पनडुब्बी ‘पर्म’ प्रशान्त महासागरमा सैन्य सेवामा खटाइने

46 Shares


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक शक्तिबाट सञ्चालित पनडुब्बी ‘पर्म’ लाई प्रशान्त महासागरस्थित रुसी नौसैनिक बेडामा समावेश गरी सैन्य सेवामा खटाइने बताउनुभएको छ । शुक्रबार रुसको उत्तरपश्चिमी क्षेत्र सेभेरोद्भिन्स्कस्थित सेभमास सिपयार्डमा आयोजित समारोहमा सहभागी हुँदै उहाँले यस्तो जानकारी दिनुभएको हो । उक्त समारोहमा पनडुब्बीमा रुसी नौसेनाको झण्डा फहराइएको थियो ।

‘पर्म’ पछिल्लो छ वर्षमा रुसी नौसेनालाई हस्तान्तरण गरिएको यासेन–एम श्रेणीको पाँचौँ आणविक पनडुब्बी हो । यो चौथो पुस्ताको बहुउद्देश्यीय आणविक पनडुब्बी हो, जसमा हाइपरसोनिक क्रुज क्षेप्यास्त्र ‘जिरकोन’ नियमित हतियारका रूपमा जडान गरिएको छ । यासेन–एम श्रेणीका पनडुब्बी विश्वका विभिन्न समुद्री क्षेत्रमा गोप्य रूपमा सञ्चालन हुन सक्ने गरी निर्माण गरिएका छन् ।

अत्याधुनिक आणविक पनडुब्बी निर्माण गर्ने क्षमता विश्वका सीमित मुलुकसँग मात्र रहेको पनि पुटिनले उल्लेख गर्नुभएको छ । सन् २०३० सम्ममा पाँचवटा क्षेप्यास्त्रवाहक पनडुब्बी रुसी नौसेनालाई हस्तान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ । तीमध्ये तीनवटा यासेन–एम श्रेणीका हुनेछन् ।