छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

16 Shares

काठमाडौं । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट १५१ जना लाभान्वित भएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

छपकैया नेपाली समाजको आयोजना तथा वीरगन्ज सामुदायिक आँखा अस्पताल र काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा शनिबार उक्त शिविर सञ्चालन गरिएको हो ।

आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविरमा परीक्षणका क्रममा मोतियाबिन्दु देखिएका बिरामीको सोही दिन निःशुल्क शल्यक्रिया गरिएको शिविरका संयोजक अजित भुजेलले जानकारी दिए ।

संयोजक भुजेलका अनुसार छपकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिनेछ । समाजले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रमलगायत सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको उनले बताए ।

सम्बन्धित सङ्घसंस्था तथा सरोकारवालासँग सहकार्य गरी स्थानीय समुदायको स्वास्थ्य अवस्था सुधार, सामाजिक एकता, सरसफाइ र जनचेतना अभिवृद्धिका क्षेत्रमा योगदान पुर्‍याउनु समाजको मुख्य उद्देश्य रहेको भुजेलको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो शिविरले समयमै आँखाको समस्या पहिचान गर्न र आवश्यक उपचारमा पहुँच पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।