काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम सम्पन्न भएपछि उक्त सडकखण्डमा यातायात आवागमन सहज बनेको हो ।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसोको समयमा सवारी आवागमन रोकेर घोप्टेभिरमा पहिरो व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
पहिरोबाट प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन र यातायात आवागमन सहज बनाउन प्रहरी टोली अझै निरन्तर खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काका अनुसार प्रहरी टोली सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा सक्रिय रहेको छ ।
घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् । यसले उक्त मार्ग हुँदै यात्रा गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
तर, पृथ्वी राजमार्ग सञ्चालनमा आए पनि नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सोही कारण प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्ड बन्द रहनेछ ।
सडक बन्द हुँदा दिउँसोको समयमा चितवनबाट काठमाडौं तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् । त्यसैले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकले समय व्यवस्थापन गरी यात्रा गर्नुपर्ने देखिएको छ ।
घोप्टेभिरमा सडक पूर्ण रूपमा सञ्चालनमा आउनु यात्रुका लागि राहतको विषय भए पनि तुइनखोलामा जारी रहने पहिरो व्यवस्थापन कार्यका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा भने केही समय यातायात असहज हुने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया