तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

7 Shares

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले चमेराको संरक्षण गर्ने उद्देश्यले तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।

आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य निर्माण गतिविधिका कारण चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएकाले काठबाट निर्मित वैकल्पिक आवास बनाउन थालिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार पारेको डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिनेछ । ती आवास निर्माण सम्पन्न भएपछि चमेराका लागि उपयुक्त स्थान पहिचान गरी स्थापना गरिनेछ ।

चमेराले प्राकृतिक पारिस्थितिक प्रणाली सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समावेश गरिएको छ । वैकल्पिक बासस्थान निर्माणले चमेरालाई सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै आयोजना निर्माणका गतिविधिबाट उनीहरूको प्राकृतिक जीवनमा पर्न सक्ने सम्भावित असर न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको यस जलविद्युत् आयोजनाले १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाले भौतिक संरचना निर्माणलाई अघि बढाउँदै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ ।

ऊर्जा उत्पादनका लागि पूर्वाधार निर्माणसँगै जैविक विविधता र वन्यजन्तुको संरक्षणलाई पनि प्राथमिकता दिइनुपर्ने सन्देश यस पहलले दिएको छ ।