सहकारीमार्फत दूध बिक्री हुन थालेपछि किसान उत्साहित

17 Shares

काठमाडौं । सहकारीमार्फत दूधको बजारीकरण हुन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् । गाउँमा उत्पादित दूध स्थानीय बजारमा खपत हुन नसकेर बिक्री गर्न समस्या भोग्दै आएका किसानलाई सहकारीले पोखरास्थित डेरी उद्योगसम्म बजारको पहुँच पुर्‍याएपछि राहत मिलेको हो ।

जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले ३५ जना किसानबाट दैनिक करिब २३० लिटर दूध सङ्कलन गरी पोखरास्थित सुजल डेरीमा पठाउँदै आएको छ । विसं २०७६ मा स्थापना भएको सहकारीले दूधको बजार सुनिश्चित गर्दै किसानलाई व्यावसायिक पशुपालनमा निरन्तरता दिन सहयोग पुर्‍याउँदै आएको छ ।

यसअघि गाउँमा दूधको माग कम हुँदा उत्पादित दूध बिक्री गर्न किसानलाई समस्या हुने गरेको थियो । सहकारीमार्फत नियमित रूपमा दूध बिक्री हुन थालेपछि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको सहकारीका व्यवस्थापक कृष्णप्रसाद आचार्यले बताए ।

उनका अनुसार किसानबाट सङ्कलित दूध चिलिङ भ्याटमा राखेर २४ घण्टाभित्र पोखरा पठाउने गरिएको छ । दूधको गुणस्तर र फ्याटका आधारमा किसानलाई मासिक भुक्तानी दिने व्यवस्था मिलाइएको छ । यसले किसानलाई आफ्नो उत्पादनको नियमित बजार र भुक्तानीको सुनिश्चितता दिएको छ ।

तर, स्थानीय बजारको तुलनामा पोखरा पठाउँदा दूधको मूल्य कम प्राप्त हुने गरेको छ । स्थानीय बजारमा प्रतिलिटर ११० रुपैयाँसम्म दूध बिक्री हुने गरे पनि पोखरा पठाउँदा औसतमा ७० रुपैयाँ मात्रै प्राप्त हुने गरेको व्यवस्थापक आचार्यले बताए ।

बजार सुनिश्चित भए पनि ढुवानी खर्च र बिक्री मूल्यका कारण किसानले स्थानीय बजारको तुलनामा कम मूल्य पाउनुपरेको उनको भनाइ छ । यसले दूधको बजारीकरण सहज भए पनि किसानको आम्दानी बढाउन मूल्य र ढुवानी व्यवस्थापनमा थप सुधार आवश्यक देखिएको छ ।

सहकारीले दूध सङ्कलन तथा बजारीकरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एक हजार लिटर क्षमताको चिलिङ भ्याट आवश्यक रहेको जनाएको छ । पर्याप्त क्षमताको चिस्यान केन्द्र उपलब्ध भएमा दूध सङ्कलन र भण्डारणलाई सहज बनाउँदै बजार विस्तार गर्न सकिने सहकारीको अपेक्षा छ ।

यसैबीच, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । केन्द्रका प्रमुख डा. भरत रेग्मीका अनुसार सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

सहकारीको सक्रियतामा गाउँमा उत्पादित दूधले पोखरासम्म बजार पाउन थालेपछि जैमिनीका किसानलाई व्यावसायिक पशुपालनमा जोडिन थप हौसला मिलेको छ । यद्यपि, किसानको उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्न, ढुवानी खर्च घटाउन र चिस्यान क्षमताको विस्तार गर्न सके दुग्ध व्यवसाय अझ प्रभावकारी बन्न सक्ने देखिन्छ ।