कराँचीमा छ तले भवन भत्किँदा ११ जनाको मृत्यु, आठ जना बेपत्ता

56 Shares

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा निर्माणाधीन छ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको । भग्नावशेषबाट शनिबार थप तीन जनाको शव निकालिएसँगै मृतकको संख्या ११ पुगेको हो । उद्धार अधिकारीहरूका अनुसार घटनामा अझै कम्तीमा आठ जना बेपत्ता छन्।

उनीहरूको खोजी तथा उद्धारका लागि भारी मेसिन र विशेष उपकरण प्रयोग भइरहेको छ । पाकिस्तानको सिन्ध प्रान्तस्थित कराँचीको बालोच कोलोनी क्षेत्रमा बुधबार उक्त भवन भत्किएको थियो । सुरुमा घटनामा तीन जनाको मृत्यु भएको र १४ जना घाइते भएको पुष्टि गरिएको थियो ।

घटनापछि सिन्धका मुख्यमन्त्री मुराद अली शाहले तीन जना अधिकारीलाई पदबाट हटाउन तथा सिन्ध भवन नियन्त्रण प्राधिकरणका १६ कर्मचारीलाई निलम्बन गर्न निर्देशन दिएका छन् । भवन निर्माणमा अधिकारीहरूको सम्भावित संलग्नता र लापरबाहीबारे छानबिन गर्नसमेत मुख्यमन्त्रीले आदेश दिएका छन् ।