दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न प्राधिकरणको चेतावनी

7 Shares


नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । बिहीबार काठमाडौंमा आयोजित दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले गुणस्तर सुधारका योजना बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले प्राधिकरणले तोकेको मापदण्ड पालना गर्नु सेवा प्रदायकको अनिवार्य दायित्व भएको स्पष्ट पार्नुभयो । सेवा प्रदायकहरूले प्रत्येक वर्ष गुणस्तर सुधार योजना पेस गर्दै टावर थप्ने र फ्रिक्वेन्सी विस्तार गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा अपेक्षित प्रगति हुन सकेको छैन । प्राधिकरणले सहरी, ग्रामीण, तराई र दुर्गम हिमाली क्षेत्र समेटेर कम्तीमा ८०० देखि ९०० किलोमिटर क्षेत्रमा ड्राइभ टेस्ट गरी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा प्राधिकरणमा डेटा सेवासम्बन्धी ३३९ र मोबाइल भ्वाइस सेवासम्बन्धी ९६ वटा गुनासा दर्ता भएका थिए । प्राप्त गुनासाहरू कम्प्लेन ह्यान्डलिङ सिस्टममार्फत सम्बन्धित सेवा प्रदायककहाँ पठाएर समाधानका लागि निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट आउने उपभोक्ताका गुनासालाई समेत गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गर्नुभयो ।