काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उत्पादित बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उहाँले पाइपलाइन र सिलिण्डरमार्फत ग्यास वितरण गर्ने विषयमा स्पष्ट नीति नहुँदा प्लान्ट सञ्चालनमा चुनौती आउन सक्ने बताउनुभयो ।
प्लान्ट निर्माण र पुनःसञ्चालनसँगै उत्पादित ग्यास उपभोक्तासम्म पु¥याउने व्यवस्था पनि सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । डंगोलले प्लान्टको दिगो सञ्चालनका लागि महानगरले निजी क्षेत्र र प्राविधिक समूहसँग छलफल गरिरहेको जानकारी दिनुभयो। उहाँले टेकुमा निर्माण भइरहेको फोहोर स्थानान्तरण केन्द्र तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि बताउनुभयो ।
केन्द्र सञ्चालनमा आएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुनःप्रयोगयोग्य फोहोरको व्यवस्थापन सहज हुने उहाँले बताउनुभयो। साथै, सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रशोधित फोहोर प्रयोग गर्न रिफ्युज डिराइभ्ड फ्युल (आरडीएफ) सम्बन्धी नीति बनाउन पनि सरकारसँग माग गर्नुभयो । फोहोरलाई समस्याका रूपमा मात्र नहेरी ऊर्जा उत्पादन र आर्थिक स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया