१० वर्षदेखि बन्द बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, १०० घरपरिवारलाई पाइपलाइनबाट ग्यास वितरण गरिने

50 Shares

करिब १० वर्षदेखि बन्द रहेको काठमाडौं महानगरपालिकाको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ। महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्लान्टको परीक्षण शुभारम्भ गर्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र काठमाडौं महानगरपालिकाको सहकार्यमा पुनःस्थापना गरिएको प्लान्टबाट दैनिक तीन टन जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

उत्पादित ग्यास पाइपलाइनमार्फत आसपासका करिब १०० घरपरिवारलाई वितरण गर्ने तयारी गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यसअघि विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको प्लान्टलाई प्राविधिक अध्ययनपछि ग्यास सिधै उपभोक्तासम्म पु¥याउने गरी नयाँ अवधारणामा सञ्चालन गर्न लागिएको बताउनु भयो । प्लान्टको दिगो सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी मोडेलसमेत अघि बढाइने उहाँले बताउनुभयो ।

विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले जैविक फोहोरबाट बायोग्यास उत्पादन गर्दा ल्यान्डफिलमा कुहिने फोहोरबाट निस्कने मिथेन ग्यास र खुला रूपमा फोहोर जलाउँदा हुने प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले प्लान्टको प्रभावकारी सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत प्लान्ट पुनःस्थापना गरिएको हो । यसको सञ्चालन प्रभावकारी भएमा महानगरको जैविक फोहोर व्यवस्थापनसँगै स्थानीय बासिन्दालाई वैकल्पिक ऊर्जा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।