आन्तरिक राजस्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकिए

48 Shares

आन्तरिक राजस्व विभागले भ्रष्टाचार नियन्त्रण तथा संस्थागत सदाचार प्रवद्र्धनका लागि सदाचार सम्पर्क व्यक्ति तोकेको छ । विभागको बुधबारको निर्णयअनुसार अनुगमन, मूल्यांकन तथा सुशासन शाखाका निर्देशक गणेशप्रसाद नेपाललाई उक्त जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद्बाट २०८३ असार १८ गते स्वीकृत राष्ट्रिय सदाचार नीति, २०८३ अनुसार संघ, प्रदेश र स्थानीय तहका प्रत्येक निकायले सदाचार प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ । विभागले नेपाललाई कर्मचारीमा सत्यनिष्ठा र व्यवसायीमा व्यावसायिक सदाचारसम्बन्धी चेतना अभिवृद्धि गर्ने, सदाचार प्रवद्र्धनका कार्यक्रम समन्वय गर्ने तथा चौमासिक प्रतिवेदन तयार गरी महानिर्देशकसमक्ष पेश गर्ने जिम्मेवारी दिएको छ ।

त्यस्तै, विभाग तथा मातहतका कार्यालयमा सदाचारसम्बन्धी जोखिम पहिचान गरी प्रतिवेदनमार्फत राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउने, कर्मचारीका सदाचारसम्बन्धी गुनासा सुनुवाइमा सहजीकरण गर्ने र संस्थागत सदाचार सूचकांक विकास गरी कार्यालयहरूको मूल्यांकन समन्वय गर्ने जिम्मेवारी पनि उहाँलाई दिइएको छ ।

यस व्यवस्थाबाट विभाग तथा मातहतका कार्यालयमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।