ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो र सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फोहोरको समयमै व्यवस्थापन गरी नेपाललाई स्वच्छ बनाउने अभियानमा सबै पक्ष जुट्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने योजना भए पनि बाढीका कारण उपकरण बिग्रिएकाले तत्काल उत्पादन सम्भव नभएको जानकारी दिनुभयो।
उपकरण मर्मत गरी विद्युत् उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो । त्यस्तै, सिसडोलमा थुप्रिएको फोहोर दैनिक तीन हजार किलोका दरले हटाउने योजना रहेको जानकारी दिँदै उहाँले भविष्यमा काठमाडौं महानगरपालिकाले एक किलो फोहोर पनि ल्यान्डफिल साइटमा लैजान नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले बायोग्यास उत्पादन र वितरणलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था तथा अन्तरस्थानीय तह समन्वयमा जोड दिनुभयो । सरकारले अघि सारेको ‘एलपीजीमुक्त स्थानीय सरकार’ अभियानलाई सफल बनाउन घरबाटै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले फोहोरलाई ऊर्जा र आम्दानीको स्रोतका रूपमा उपयोग गर्न महानगरपालिकाले थालेको प्रयासमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया