काठमाडौँ । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ ।
यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपश्चात् महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ ।
उहाँले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराउनुभयो ।दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।
महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ । यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया