बराह सहकारी ठगी प्रकरणमा फरार दुई प्रतिवादी भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ

19 Shares

काठमाडौं । सुनसरीको बराह बचत तथा ऋण सहकारी संस्थासँग जोडिएको ठगी प्रकरणमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र बराह ग्रुपकी कर्मचारी अस्मिता भण्डारी रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले उनीहरूलाई मंसिर २ गते नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

सहकारीका संस्थापक विश्वकर्मा काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका थिए भने भण्डारी धरान उपमहानगरपालिका–१५ निवासी हुन् । भण्डारी बराह सहकारीको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा (कस्टमर केयर) मा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनी बराह ग्रुपको प्रदेश सचिवालयकी सदस्यसमेत हुन् ।

प्रहरीका अनुसार यस प्रकरणमा १७ हजार १० जना पीडित रहेको र ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी भई मुद्दा अघि बढाइएको छ । बराह बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय धरानमा रहेको थियो । उक्त संस्थासँग आबद्ध रहेर नेपालका विभिन्न स्थानमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरिएको पनि प्रहरीको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।