काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २/२ वटा डुकाटी र एमटी, १/१ वटा डोमिनार र केटिएम डुक र ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।
एक साताको अवधिमा उक्त संख्यामा मोटरसाईकल, स्कुटर लयायतका दुईपाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पुर्याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार निजी सवारीसाधन भन्दै आफूखुशी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उहाँको भनाई छ । उहाँकाअनुसार ट्राफिक प्रहरीले मोडिफाई गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ ।
विभागले कानूनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उहाँले जानकारी दिनुभयो । मोडिफाई गरिएका पार्टपुर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उहाँको भनाई छ । पटक–पटक नियम उल्लङ्घन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उहाँले जानकारी दिनुभयो । काफ्लेका अनुसार पाँचदेखि १० वटासम्म मोटरसाइकल पटक–पटक कारबाहीमा परेपछि नियन्त्रणमा राखिएको छ ।
उहाँले भन्नुभयो, ‘१ हप्ताको दौरानमा ४०१ वटा मोटर साईकलहरु समातेर आवश्यक कानुनी कारबाही गर्दैछौं । हाम्रो एउटै मात्र उद्देश्य के हो भने सडकमा कुनै पनि नागरिकलाई साउन्ड पोलुसनको कारणले अरु दुर्घटना अथवा उनलाई हेल्थको ह्याजार्ड नहोस् भन्ने नै हो । साथै सडकमा मनलाग्दी तरिकाले आफूले चाहे अनुसारले सवारी साधन चलाउने र जसको कारणले अरुलाई असर गर्ने काम गर्नु हुँदैन । पछिल्लो समयमा जे गर्दा पनि हुन्छ, सडकमा हिँड्ने सवारी साधन मेरो सम्पत्ति भएको हुनाले जसरी मोडिफाई गर्न पनि पाउँछ भन्ने खालको ट्रेन्ड जस्तै बसेको छ । यसले कसैलाई पनि फाइदा गर्दैन । यो स्वयं चालकलाई पनि एकदमै रिस्की हुन्छ । यो गैरकानूनी क्रियाकलाप हो र हामी यसलाई नियन्त्रण गर्ने प्रयासमा छौं । यो जति पनि मोडिफाई गरेका सवारी साधनहरु छन्, त्यो मोडिफाई गरेका सवारी साधनहरुको जरिवाना चाहिँ यातायात व्यवस्था कार्यालयले गर्छ । हामीले गर्दैनौं, हामीले चिट काटेर पठाउँछौं । उहाँहरुले चिट काटेर आइसकेपछि शोरुमबाट निस्किँदाखेरि जुन अवस्थामा मोटर साईकल थियो, त्यही अवस्थामा बनाएर हामी उहाँहरुलाई ह्यान्ड ओभर गर्छौं । चेन्ज गरेका पाट्र्सहरु सबै चेन्ज गर्न लगाउँछौं । अहिले जति पनि दुर्घटना हेर्नुहुन्छ भने हाम्रो ६० देखि ७० प्रतिशत दुर्घटना २ पाङ्ग्रे सवारी साधनमै छ । यो आर्थिक वर्षमा पनि अधिकांश ठाउँमा २ पाङ्ग्रेबाट नै दुर्घटनाको कारणले मान्छेहरुले मृत्युवरण गर्नु परेको र घाइते हुनुपरेको अवस्था छ । त्यसैले २ पाङ्ग्रे सवारी साधन आफैँमा संयमित भएर चलाउनु पर्ने सवारी साधन हो । त्यसमा पनि मोडिफाई गरेपछि त यसले जे रुपमा काम गर्नुपर्ने हो, त्यो काम नगर्ने हुनाले अरु थप दुर्घटना भएको देखिन्छ ।’
प्रमुख काफ्लेले मोडिफाई गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्नसक्ने र दुर्घटनाको जोखिम थप बढाउन सक्ने बताउनुभयो । उहाँकाअनुसार दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा बढी संलग्न हुने गरेको छ ।
काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पनि दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाका कारण मृत्यु तथा घाइते हुनेको संख्या उल्लेख्य रहेको उहाँको भनाई छ । सडक सबैको साझा प्रयोगस्थल भएकाले प्रत्येक चालकले आफ्नो व्यवहारले अरूलाई असर पारेको छ कि छैन भन्ने विषयमा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ट्राफिक नियमको पालना र नागरिकको जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्युनिकरण सम्भव हुने उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया