दशौं खेलकुदको महिला बास्केटबलमा एपिएफ र सुदूरपश्चिम क्वार्टरफाइनलमा

7 Shares

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र सुदूरपश्चिम प्रदेशले दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलमा क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

सुर्खेतको कर्णाली रंगशालास्थित बास्केटबल कोर्टमा मंगलवार भएको खेलमा समूह ‘ए’ को एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवलाई हरायो । तीन टोली रहेको समूहमा एपिएफले पुलिसलाई ५२–१९ स्कोरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो । एपिएफको जितमा प्रशन्दता लामाले सर्वाधिक ११ स्कोर गरिन् । एपिएफले पहिलो क्वार्टरमा १४–७, दोस्रोमा १८–१, तेस्रोमा १३–५ र चौथो क्वार्टरमा ७–६ स्कोर गरेको थियो ।

तीन टोली नै रहेको समूह ‘बी’ मा जित निकाल्दै सुदूरपश्चिमले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले बागमती प्रदेशमाथि ३६–३३ स्कोर गरिन् । सञ्जु घिसिङले सर्वाधिक १९ अंक जोड्दै सुदूरपश्चिमलाई महत्वपूर्ण जित दिलाइन् ।

पहिलो क्वार्टरमा सुदूरपश्चिमले १४ स्कोर गर्दा बागमतीले खाता खोल्न सकेन । तर दोस्रो क्वार्टरमा बागमतीले खेलमा फर्कन प्रयास गर्‍यो । यो क्वार्टरमा बागमतीले १३ र सुदूरपश्चिमले ६ स्कोर गरे । तेस्रो क्वार्टर प्रतिष्पर्धात्मक बन्यो । यसमा सुदूरपश्चिमले ९ र वागमतीले १० स्कोर जोडे । अन्तिम तथा निर्णायक क्वार्टरमा बागमतीले १० स्कोर गरे पनि जित निकाल्न सकेन । सुदूरपश्चिमले सात स्कोर गरेको थियो । महिला थ्री बाई थ्रीमा त्रिभूवन आर्मी क्लव र वागमती प्रदेशले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । मंगलवार भएको खेलमा समूह ‘ए’ को आर्मीले एपिएफलाई १७–१२ स्कोरले हरायो ।

आर्मीको जितमा दिव्यान्शीले १२ अंक जोडिन् । यो समूहमा कोशी प्रदेशसहित तीन टोली छन् । समूह ‘बी’ को खेलमा बागमतीले घरेलु टोली कर्णाली प्रदेशमाथि ९–६ को रोमाञ्चक जित रच्यो ।

महिला क्रिकेटमा एपिएफ र आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले सुखद् शुरुवात गरेका छन् ।वीरेन्द्रनगर रंगशालामा मंगलबार भएको समूह ‘ए’ को खेलमा आर्मीले कोशी प्रदेशमाथि ६ विकेटको जित रच्यो । यो समूहमा कर्णालीसहित तीन टोली छन् । तीन समूहका शीर्ष टोली र तीन समूहबाट सर्वाधिक अंक ल्याउने एक टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । अंक बराबरी भएमा नेट रनरेट आधार बनाइने भएको छ ।

समूह ‘ए’ को आर्मी ‘बी’ को एपिएफले जित निकाल्दै सेमिफाइनलमा पुग्ने बलियो आधार बनाएका छन् । एपिएफले भने लुम्बिनी प्रदेशमाथि १५८ रनको फराकिलो अन्तरले हरायो । समूह ‘बी’ मा मधेश प्रदेश तेस्रो टोली हो । समूह ‘ए’ को आर्मीले अधिकांश सुदूरपश्चिमका खेलाडी सम्मिलित टोली बनाएको छ ।

महिला क्रिकेटमा सुखद् नतिजा दिँदै आएको सुदूरपश्चिमका खेलाडी सम्मिलित टोली आर्मीले पनि जित निकालेको छ । वीरेन्द्रनगर रंगशालामा नेपालकी पूर्वकप्तान कोशीले ६६ रनको झिनो लक्ष्य दियो । उक्त लक्ष्य आर्मीले १३.१ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्‍यो ।

आर्मीकी ओपनर विन्दु रावलले २१ रन बनाइन् । २८ बलमा उनले तीन चौका प्रहार गरिन् । रुबि पोदारले १८ रन जोड्दा कविता कुँवर १२ रनमा नटआउट रहिन् । कोशीकी बलिङमा कप्तान रुबिनाले तीन र एलिशा खडियाले एक विकेट लिए । प्लेयर अफ दि म्याच आर्मीकी यमुना थारु भइन् । त्यसअघि टस हारेर कोशीले पहिले ब्याटिङको निम्तो पायो । तर खराब ब्याटिङ गरेको कोशी १८.५ ओभरमा ६५ रनमै अलआउट भयो । कोशीकी कप्तान रुविनाले ३६ रनको योगदान दिइन् । ३६ बल खेलेकी रुबिनाले एक छक्का र पाँच चौका प्रहार गरिन् । अन्य ब्याटर टिक्नै सकेनन् । कोशीलाई सस्तैमा रोक्ने क्रममा आर्मीकी यमुना थारुले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी यमुनाले दुई ओभर मेडन राख्दै ६ रन खर्चिइन् । मनीषा उपाध्यायले दुई विकेट र कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले समान एक विकेट लिए ।

अर्को खेलमा एपिएफले १९८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा ३९ रनमा नै अलआउट भयो । ओपनर श्रुती बुढाथोकीले १५ रन बनाइन् । यसबाहेक अन्य ब्याटर टिक्नै सकेनन् । एपिएफको बलिङमा करुणा भण्डारीले तीन तथा रेखा रावल, राजमती ऐरी र बिनु बुढामगरले समान दुई विकेट लिए । सुमन बिष्टको नाममा एक विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट मात्र गुमाउँदै १९७ रनको विशाल योगफल बनायो ।

एपिएफका तीन ब्याटरले अर्धशतक बनाउँदा लुम्बिनीका बलरमाथि पूर्ण हाबी भए । कप्तान सीता रानामगर ६६ रनमा आउट भइन् । ओपनर रेवती धामी ५५ र इन्दु बर्माले ५८ रनको इनिङ खेले । कोशीको बलिङमा आयुशा भुषाल मात्र विकेट लिन सफल भइन् ।

आजबाट खेल प्रतिष्पर्धा शुरु

दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुनेछ । बासस्थानको अभावका कारण उद्घाटनभन्दा धेरै अगाडि नै खेल प्रतिष्पर्धा शुरु हुँदैछ ।

औपचारिक उद्घाटनअघि नै कुल ३२ खेलमध्ये ९ खेलका प्रतिष्पर्धा सकिनेछ । मंगलवारदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच खेलको प्रतिष्पर्धा शुरू भएका खेल छन् । कर्णाली प्रदेशको सुर्खेतमै २३ वटा खेल हुनेछन् । बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुममा हुने तय छन् ।

कर्णाली प्रदेशमा खेल पूर्वाधार नभएपछि लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा चार खेल गरिँदैछ । पौडी, टेनिस, खोखो र सुटिङ लुम्बिनी प्रदेशमा हुँदैछन् । सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टोलीका खेलाडीले प्रतिष्पर्धा गर्दैछ । प्रतियोगितामा तीन सय ८४ इभेन्टमा कुल १ हजार ३३७ पदकका लागि प्रतिष्पर्धा हुनेछ । रजत र काँस्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन हुने तयारी छ । सोमवार मात्र निर्माण कम्पनीले सरकारलाई उक्त रंगशाला हस्तान्तरण गरेको हो । मंसिर २७ गते समापन हुनेछ । पहिलोपल्ट २० दिनसम्म राष्ट्रिय खेलकुदको प्रतिष्पर्धा हुँदैछ ।