यौन हिंसापीडितलाई समेत अदालतमा साक्षी खोज्न लगाइन्छ, यो व्यवस्था हटाइयोस्ः सांसद विक

21 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा समेत पीडितलाई न्यायका लागि अदालतमा साक्षी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेकोे प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जबरजस्ती करणीका मुद्दामा समेत पीडितलाई साक्षी उपलब्ध गराउनुपर्ने अवस्थाले पीडितलाई थप पीडा दिने बताउनुभयो । यौन हिंसापीडित किशोरी तथा महिलाले कसरी साक्षी जुटाउन सक्छ ? उहाँको प्रश्न छ ।

उहाँले यस्ता विशिष्ट प्रकृतिका मुद्दमा न्याय निरुपण प्रक्रियालाई सहज र पीडितमैत्री बनाउनेगरी विधेयकमा सुधार गर्नुपर्ने बताउनुभयो । सांसद विकले अदालतबाट न्याय पाएपछि पनि पीडितले जीवनभर मानसिक समस्यासँग संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यौन हिंसाका घटना नै हुन नदिनेतर्फ राज्य र सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यो बकपत्रले साह्रै रुवायो मान्छेहरुलाई । यस्तो सम्म वकपत्र बनाइदियो की जबरजस्तीकरणीको मुद्दा छ अनि त्यहाँ पनि साक्षी ल्याउनुपर्‍यो भन्छ के अदालत ।

अनि एउटा यौन हिंसापीडित किशोरी वा महिलाले कसरी साक्षी उपलब्ध गराउँछ ? यस्ता विशिष्ट केसहरुमा यस्ता समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ । अनि यस्ता यौन हिंसाका घटनामा अदालतबाट न्याय पाएपछि पनि पीडितले विभिन्न मानसिक समस्यासँग जीवनभर जुधिरहनुपर्छ । त्यसकारण यस्ता घटना नै घटन नदिनेतर्फ कसरी काम गर्न सकिन्छ । यो पनि हामी सबैको दायित्वको विषय हो जस्तो लाग्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट हुने हिंसा र बेचबिखनमा परेका पीडितले न्याय पाउने प्रक्रिया सरल बनाउनुपर्नेमा जोड दिए । बैठकले बुधवार मानव बेचबिखनको क्षेत्रमा काम गरेका विज्ञ तथा सरोकारवालाहरुसँग सुझाव लिएको छ