जनकपुरधाम । धनुषामा छठ पर्वका लागि छठघाटमा पूजा सामग्री कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
मृत्यु हुनेमा शहीदनगर नगरपालिका–२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव रहेका छन्। उनी गएराति छठघाटमा एक्लै पूजा सामग्री कुरेर बसिरहेको अवस्थामा मृत फेला परेका हुन्।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा यादव एक्लै बसेका थिए।
मृतक यादवको गालामा चोटपटक लागेको र रगतसमेत देखिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको प्रहरीको भनाइ छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। यादवको मृत्यु कसरी र के कारणले भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाको वास्तविकता अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया