मलाई सबैभन्दा बढी चिन्ता शेरबहादुर देउवाकै छ: गगन थापा

8 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक व्यक्तित्व, योगदान र मर्यादाप्रति आफू सबैभन्दा बढी संवेदनशील रहेको बताएका छन्। पार्टीभित्र आफूविरुद्ध भइरहेका आलोचना र टिप्पणीले कुनै चिन्ता नलागे पनि देउवाले सार्वजनिक मञ्चबाट व्यक्त गर्ने अभिव्यक्तिप्रति भने आफू चिन्तित रहेको उनले बताएका हुन्।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देउवाले पुर्‍याएको योगदानको चर्चा गर्दै उनको राजनीतिक उचाइ र मर्यादा कायम राख्नुपर्नेमा जोड दिए। देउवा कांग्रेसको निवर्तमान सभापति मात्र नभई प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता भएकाले उनको अभिव्यक्ति र व्यवहार राजनीतिक मर्यादाभित्र हुनुपर्ने थापाको भनाइ थियो।

विशेष महाधिवेशनपछि पार्टीभित्रैबाट आफूलाई लक्षित गरी विभिन्न आलोचना, टिप्पणी र आरोपहरू लाग्ने गरेको उल्लेख गर्दै थापाले त्यसलाई सामान्य रूपमा लिएको बताए। आफ्नो आलोचना गरेर कसैले राजनीतिक पहिचान बनाउँछ वा आफ्नो गतिविधि अघि बढाउँछ भने त्यसप्रति आफूलाई कुनै आपत्ति नरहेको उनले स्पष्ट पारे।

तर, आफूलाई सबैभन्दा बढी चिन्ता कसको लागेको छ भन्ने प्रश्नको जवाफ दिँदै उनले निवर्तमान सभापति देउवाको नाम लिए। उनले भने, ‘मेरो निन्दा गरेर कसैको घरधन्दा चलेको छ, कसैको पोलिटिकल आइडेन्टिटी बनेको छ भने हुन दिऊँ। त्यो पनि साथीभाइ नै हुन्। तर मेरो चिन्ता आजको दिनमा कसको हो भन्दा मेरो निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवाको चिन्ता हो।’

थापाले देउवासँग विगतदेखि नै राजनीतिक असहमति रहँदै आएको स्मरण गराए। देउवा पार्टी सभापति रहँदासमेत आफूले विभिन्न विषयमा फरक मत राख्दै आएको तर पार्टीको निर्णय स्वीकार गरेर अघि बढेको उनको भनाइ थियो। उनले विगतका असहमतिलाई व्यक्तिगत विषय नभई राजनीतिक मतभिन्नताका रूपमा बुझ्नुपर्ने बताए।

विशेष महाधिवेशनका विषयमा उठिरहेका प्रश्न र असन्तुष्टिलाई सम्बोधन गर्दै थापाले उक्त महाधिवेशन पार्टीको विधि र विधानअनुसार सम्पन्न गरिएको दाबी गरे। महाधिवेशनप्रति असहमति राख्ने, त्यसको प्रक्रिया र निर्णयमाथि प्रश्न उठाउने तथा आफ्नो धारणा राख्ने अधिकार सबैलाई रहेको उनले स्पष्ट पारे।

तर, राजनीतिक असहमति व्यक्त गर्दा भाषा, व्यवहार र अभिव्यक्तिमा मर्यादा कायम हुनुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशनमाथि प्रश्न उठाउने विषयलाई आफूले अन्यथा नलिने बताउँदै उनले त्यसलाई राजनीतिक बहस र संवादका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

उनले भने, ‘विशेष महाधिवेशनमाथि प्रश्न उठाउनुस्, मेरो भन्नु केही छैन। किनकि त्यसभित्र तपाईंले प्रश्न गर्ने ठाउँहरू होलान्, अवश्य तपाईंका असन्तुष्टि होलान्। तर त्यो राजनीतिक हुनुपर्छ।’

सभापति थापाले देउवाको राजनीतिक योगदान र व्यक्तित्वलाई सम्मान गर्दै सार्वजनिक अभिव्यक्तिमा विशेष ध्यान दिन आग्रहसमेत गरे। देउवालाई पार्टीको अभिभावकका रूपमा उल्लेख गर्दै उनले उनीप्रति सम्मान र राजनीतिक मर्यादा कायम राख्नु सबैको जिम्मेवारी भएको बताए।

थापाले भने, ‘तपाईं अहिले पनि हाम्रो नेता हो, तपाईं हाम्रो अभिभावक हो। तपाईंको सभापतित्वमा बसेर हामीले काम गरेको हो। त्यसैले तपाईंको बोली राजनीतिक हुनुपर्छ, असहमति पनि राजनीतिक हुनुपर्छ। त्यसलाई एउटा सीमाभित्र र मर्यादाभित्र राख्नुपर्छ।’

विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको असन्तुष्टि र मतभेदलाई समाधान गर्न आफू संवादका लागि तयार रहेको पनि थापाले बताए। पार्टीभित्र फरक मत राख्ने नेताहरूसँग छलफल गर्न नेतृत्व सधैँ खुला रहेको उल्लेख गर्दै उनले असन्तुष्ट पक्षका धारणा सुन्न र राजनीतिक निकास खोज्न आफू इच्छुक रहेको स्पष्ट पारे।

उनका अनुसार पार्टीभित्र विचार र दृष्टिकोणमा फरक हुनु स्वाभाविक हो। लोकतान्त्रिक पार्टीमा फरक मत र असहमतिलाई स्थान दिनुपर्ने भए पनि त्यसलाई व्यक्तिगत आरोप–प्रत्यारोपमा सीमित गर्न नहुने उनको धारणा छ।

सभापति थापाले पार्टीभित्र देखिएका मतभेदलाई संवाद, सहमति र राजनीतिक समझदारीका माध्यमबाट समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। व्यक्तिगत आलोचनाभन्दा पार्टीको विधि, विधान र राजनीतिक मुद्दामा केन्द्रित भएर छलफल गर्नुपर्ने उनको भनाइ छ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्व, निर्णय प्रक्रिया र पार्टीको आगामी दिशालाई लिएर विभिन्न धारणा सार्वजनिक भइरहेका बेला थापाको पछिल्लो अभिव्यक्तिलाई पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्ने र राजनीतिक मर्यादा कायम राख्ने प्रयासका रूपमा लिन सकिन्छ।