सुन्तलाको बगानमा रोगको प्रकोप बढेपछि भोजपुरका किसान चिन्तित

8 Shares

काठमाडौं । सुन्तलाको बगानमा फल झर्ने तथा विभिन्न किसिमका रोगको प्रकोप देखिन थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । सुन्तलाका दाना पूर्णरूपमा परिपक्व हुन नपाउँदै भेट्नो कुहिएर फल झर्ने, बोटमा फल फुट्ने, हाँगा सुक्ने तथा पातमा ढुसी देखिने समस्या बढेपछि किसानहरू वर्षभरको मेहनत र लगानी खेर जाने चिन्तामा परेका हुन् ।

भोजपुरका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका किसानका बगानमा पछिल्लो समय फल झर्ने समस्या बढी देखिएको छ । फल लाग्ने समयमा असिनापानीबाट जोगिएका सुन्तलाका दाना समेत अहिले पहेँलो हुँदै आफैँ भुइँमा झर्न थालेपछि किसानहरू थप समस्यामा परेका छन् ।

भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानका अनुसार बगानमा सुन्तलाका फल परिपक्व हुनुअघि नै भेट्नो कुहिएर झर्ने समस्या देखिएको छ । उनका अनुसार सुरुमा फल सामान्य देखिए पनि विस्तारै पहेँलो हुने र त्यसपछि बोटबाटै झर्ने गरेको छ ।

“पछिल्लो समय अनौठो रोग देखिन थालेको छ,” प्रधानले भने, “यो वर्ष त झन् फल पहेँलो भएर झर्ने समस्याले व्यावसायिक खेती गरिरहेका हामी सबै किसानलाई ठूलो समस्यामा पारेको छ ।”

प्रधानका अनुसार उनले करिब ४२ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेका छन् । लामो समयदेखि सुन्तलाखेतीमा लगानी र मेहनत गर्दै आएका उनलाई यस वर्ष देखिएको रोग तथा फल झर्ने समस्याले उत्पादनमा ठूलो असर पर्ने चिन्ता छ ।

उनका अनुसार बगानमा फल झर्ने समस्या मात्र नभई हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने तथा बोट नै पहेँलो हुँदै जाने जस्ता समस्या पनि देखिन थालेका छन् । एकैपटक विभिन्न लक्षण देखिन थालेपछि रोगको वास्तविक कारण पहिचान गरी समयमै नियन्त्रणका उपाय अपनाउनुपर्ने किसानहरूको भनाइ छ ।

त्यस्तै, टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले पनि विगत केही वर्षदेखि सुन्तलाको बगानमा विभिन्न समस्या दोहोरिँदै आएको बताए । उनका अनुसार फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या हरेक वर्षजसो देखिने गरेको छ ।

राईले करिब १५ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाबाट वार्षिक करिब पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले रोगको प्रकोपका कारण पछिल्ला वर्षमा उत्पादन घट्दै गएको बताए ।

उनका अनुसार समयमै रोगको पहिचान र नियन्त्रण गर्न नसक्दा बोटको उत्पादन क्षमता कमजोर हुँदै गएको छ । फल लाग्ने समयमा देखिने समस्याले अन्ततः बजारमा बिक्री गर्न योग्य सुन्तलाको परिमाणसमेत घट्ने गरेको उनको भनाइ छ ।

यता, भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्न थालेको बताएका छन् । फल पाक्ने समय नहुँदै फुट्ने र झर्ने समस्या देखिएपछि उत्पादनमा थप क्षति पुग्ने अवस्था आएको उनले बताए ।

विष्टका अनुसार सुन्तलाखेतीबाट किसानले आम्दानीको अपेक्षा गर्ने भए पनि रोग तथा कीराको प्रकोप नियन्त्रण हुन नसके लगानीसमेत उठाउन कठिन हुने अवस्था आउन सक्छ । “समयमै यसको रोकथाम र नियन्त्रण हुन नसके पूरै बगान नै सखाप हुने स्थिति आउन सक्छ,” उनले चिन्ता व्यक्त गरे ।

सुन्तलाखेती भोजपुरका किसानका लागि आम्दानीको महत्वपूर्ण आधार बन्दै आएको छ । धेरै किसानले वर्षौँदेखि आफ्नो जमिनमा सुन्तलाका बोट लगाएर उत्पादन गर्दै आएका छन् । बगानमा रोगको समस्या बढ्दै गएमा त्यसको प्रत्यक्ष असर किसानको आम्दानीसँगै स्थानीय कृषि अर्थतन्त्रमा समेत पर्न सक्ने देखिन्छ ।

किसानहरूले बगानमा देखिएको समस्याको कारणबारे आफूहरू अन्योलमा रहेको बताएका छन् । एउटै बगानमा फल झर्ने, पातमा ढुसी लाग्ने, हाँगा सुक्ने, पात कुप्रिने र बोट पहेँलो हुनेजस्ता फरक–फरक लक्षण देखिएपछि कृषि प्राविधिकमार्फत बगानको स्थलगत निरीक्षण गरी रोगको पहिचान गर्नुपर्ने उनीहरूको माग छ ।

स्थानीय किसानले रोग नियन्त्रणका लागि आवश्यक प्राविधिक परामर्श, औषधि तथा उपचार विधिबारे जानकारी उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । विशेषगरी व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा सुन्तलाखेती गर्ने किसानलाई रोगको प्रकोपले ठूलो आर्थिक क्षति पुर्‍याउन सक्ने भएकाले तत्काल प्राविधिक सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।

किसानका अनुसार फल झर्ने समस्या बढ्दै गएमा यस वर्षको उत्पादनमा उल्लेख्य कमी आउन सक्छ । त्यसैले रोगको कारण पहिचान गरी प्रभावित बोट तथा फलको अवस्था अध्ययन, आवश्यक उपचार र बगान व्यवस्थापनका उपाय तत्काल अघि बढाउनुपर्ने देखिएको छ ।

सुन्तलाका बोटमा देखिएको समस्यालाई समयमै सम्बोधन गर्न नसके यसले आगामी वर्षको उत्पादनमा समेत असर पार्न सक्ने किसानहरूको चिन्ता छ । त्यसैले सम्बन्धित कृषि निकाय तथा प्राविधिकले भोजपुरका सुन्तला बगानमा देखिएको रोगको अवस्थाबारे अध्ययन गरी किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने माग बढेको छ ।