भोटेकोशी बाढीपछि भोकै परेका कुकुरलाई खाद्य सामग्री सहयोग

14 Shares

काठमाडौँ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।

विपद्का कारण बाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट वञ्चित भएका रहेका कुकुरलाई नेपाल पशु कल्याण तथा वातावरण समाजले खाद्य सामग्री सहयोग गरेको हो । विपद्का कारण सडक र यातायात सम्पर्क विच्छेद हुँदा समस्यामा परेका कुुकुरलाई ‘टेम्पल डग रेस्क्यु’ को आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत रसुवाको स्याफ्रुबेँसी पुगेर खाद्य सामग्री सहयोग गरिएको हो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजकी अध्यक्ष सुमेदा गौतमले विपद्का कारण भोकै बस्न बाध्य कुकुरका लागि स्यार्फुबेँशीसम्म पुगेर खाद्य सामग्री सहयोग गरिएको बताइन् । मानिसका लागि राहत पुगिरहेका बेला बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले पहल गरिएको उनको भनाइ थियो ।

“मानिसका लागि राहत पुगिरहँदा बोल्न नसक्ने यी निर्दोष जीवहरू भोकै नपरून् भन्ने हाम्रो प्रयास हो, उनीहरूका लागि केही खाना पुर्याउन सक्नु ठूलो सन्तोषको विषय हो”, अध्यक्ष गौतमले भनिन् ।

नेपाल पशु कल्याण तथा वातावरण समाजका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले विपद्का बेला पशुहरू उत्तिकै पीडित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको प्राथमिकतामा समेटिनुपर्ने बताए ।

“विपद् व्यवस्थापन मानिस केन्द्रित मात्र हुनुहुँदैन, मानिससँगै पशुको जीवन र कल्याणलाई राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्छ”, उनले भने । पशु कल्याण तथा वातावरणको क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेलले विपद्का समयमा पशुहरूको अवस्था झनै संवेदनशील बन्ने भएकाले उद्धार तथा राहतका हरेक प्रयासमा उनीहरूलाई प्राथमिकताका साथ समेटिनुपर्ने बताए । उक्त समाजले स्यार्फुबेँसी क्षेत्रमा रहेका ६० भन्दा धेरै कुकुरलाई खाद्य सामग्री सहयोग गरेको छ ।