वायु प्रदूषणका कारण नेपालमा वर्षेनी ४२ हजारको मृत्यु

150 Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिका हुने गरेका छन्। उनका अनुसार वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा स्मरणशक्ति कमजोर हुने समस्या देखिने गर्छ।

विज्ञहरूका अनुसार प्रदूषणका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोगको जोखिम, शिशु बिरामीदर वृद्धि, बाल्यकालमा क्यान्सरको जोखिम, मस्तिष्क विकासमा ढिलाइ तथा असामान्य व्यवहार देखिनुजस्ता समस्या बढ्ने गरेका छन्। साथै कुपोषणको समस्या पनि देखिने बताइएको छ।

त्यस्तै वायु प्रदूषणका कारण कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता, बाँझोपन, गर्भावस्थामा मधुमेह र मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि देखिन सक्ने विज्ञहरू बताउँछन्।

मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्डको तुलनामा नेपालमा वायु प्रदूषण करिब आठ गुणा बढी रहेको छ। बिहीबार नेपालमा वायु गुणस्तर सूचकांक १८५ सम्म पुगेको पनि मन्त्रालयले जनाएको छ।

डब्लुएचओका अनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन। सूक्ष्म कणको मात्रा बढ्दा ती कण हावामा तैरिने र श्वासप्रश्वास प्रक्रियामार्फत फोक्सोसम्म पुग्ने जोखिम रहने गर्छ।

वायु गुणस्तर सूचकांक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सम्म सचेत, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि हानिकारक र १५१ भन्दा माथि पुगेमा अस्वस्थ मानिन्छ।

वायु प्रदूषणलाई डब्लुएचओको मापदण्डभित्र ल्याउन सके हरेक वर्ष नेपालीको औसत आयु ३ दशमलव ३ वर्षले बढ्न सक्ने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार विश्वभर वायु प्रदूषणकै कारण वार्षिक करिब ७९ लाख मानिसको मृत्यु हुने गरेको छ, जसमध्ये ९० प्रतिशत कम तथा मध्यम आय भएका देशका नागरिक रहेका छन्।