नाइजेरियामा वायुसेनाको विमान दुर्घटना २५ जनाको मृत्यु

7 Shares

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।

नाइजेरियन वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य गरी २५ जना सवार थिए। विमान नियमित उडानमार्फत देशको आर्थिक राजधानी लागोसतर्फ जाँदै गर्दा केही समयपछि राडारबाट सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा विमानको भग्नावशेष ओन्डो राज्यको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै नदी किनारमा फेला परेको अधिकारीहरूले बताएका छन्।

यसअघि नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले विमानमा ३२ जना सवार रहेको जानकारी दिनुभएको थियो। तर, पछि वायुसेनाले २० यात्रु र पाँच चालक दलका सदस्य गरी २५ जना मात्रै विमानमा रहेको स्पष्ट पारेको हो।

दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले अनुसन्धान सुरु गरेको छ। दुर्घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ।