नेपाल–रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

7 Shares

काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा बस्दैछ। कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा दुई देशबीचको सम्बन्धका विविध आयाममा छलफल हुनेछ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुहुनेछ भने रुसी पक्षको नेतृत्व नेपाल भ्रमणमा रहेका उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नुहुनेछ।

बैठकमा नेपाल–रुस सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा दुई देशबीच सहकार्यका विषयमा पनि छलफल हुनेछ।

यसअघि रुसी उपविदेशमन्त्री रुडेन्कोले बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोगका लागि रुस तयार रहेको बताउनुभएको थियो। उहाँले आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि रुसमा ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने जानकारीसमेत दिनुभएको थियो।

यसैबीच, नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषय पनि बैठकमा नेपाली पक्षले उठाउने अपेक्षा गरिएको छ।