जुम्ला । जुम्लामा सुत्केरी भएपछि गम्भीर अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको थियो।
घरमै सुत्केरी गराउने प्रयासका क्रममा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याइएको थियो। प्रतिष्ठानमा शल्यक्रिया गरेर सुत्केरी गराइए पनि स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई कर्णाली प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएको थियो।
हेलिकप्टरमार्फत सुर्खेत पुर्याएर उपचार थालिए पनि उपचारकै क्रममा राति करिब १ बजे उनको मृत्यु भएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार घरमै सुत्केरी गराउने प्रयासका कारण ढिलाइ हुँदा अवस्था गम्भीर बनेको बताइएको छ। यस घटनाले ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्व सेवा र समयमै स्वास्थ्य संस्थामा सुत्केरी गराउने विषयको महत्त्वलाई फेरि उजागर गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया