‘कांग्रेस २.०’ ले देश बदल्छ : सभापति गगन थापा

51 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बदलिएको नेपाली कांग्रेसले देश परिवर्तन गर्ने दाबी गर्नुभएको छ। बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले कांग्रेस नयाँ रूप र सोचका साथ अगाडि बढिरहेको बताउनुभयो।

“नेपाली कांग्रेस बदलेर आएका छौं, यसले देशलाई बदल्छ। यो नयाँ नेपाली कांग्रेस हो, कांग्रेस २.० हो,” भन्दै उहाँले पार्टीले पुराना कांग्रेसका असल पक्षलाई अपनाएको र कमजोर पक्षलाई त्यागेको दाबी गर्नुभयो।

थापाले कांग्रेसलाई देश परिवर्तन गर्ने एउटा “एजेन्सी” का रूपमा चित्रित गर्दै नागरिक, विशेषगरी युवाहरूसँग सहकार्य गरेर परिवर्तनको सपना साकार पार्न चाहेको बताउनुभयो। “म तपाईंहरूसँग काम गर्न चाहन्छु, सँगै हिंड्न चाहन्छु। बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो, जसलाई प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौं,” उहाँले भन्नुभयो।

देश अहिले सम्हाल्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले कांग्रेसले देशलाई थप ध्वंशमा पर्न नदिने प्रतिबद्धता जनाउनुभयो। “हामी नेपाललाई सम्हाल्छौं पनि, देशलाई थप ध्वंशमा पर्न दिंदैनौं,” उहाँको भनाइ थियो।

थापाले उत्तेजना र घृणाको राजनीति नगर्ने स्पष्ट पार्दै सबैलाई समेटेर अघि बढ्ने नीति लिएको बताउनुभयो। “हामी घृणाको राजनीति गर्दैनौं, सबैलाई मिलाएर लैजान्छौं। नेपालको व्यवस्थालाई सुधार्ने र शासन गर्ने हाम्रो शैली र गति बदल्ने संकल्पका साथ आएका छौं,” उहाँले उल्लेख गर्नुभयो।

उहाँले युवालाई केवल भविष्यका रूपमा नभई वर्तमानका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्दै युवालाई राजनीतिमा सक्रिय सहयात्री बन्न आह्वान गर्नुभयो। “युवाहरू भविष्य मात्र होइनन्, पार्टनर हुन् — सँगै हिंड्ने हो,” उहाँले भन्नुभयो।