नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न व्यक्तिलाई उम्मेदवार बनाएर चुनाव लड्दैमा राजनीतिक पार्टी निर्माण नहुने टिप्पणी गर्नुभएको छ । एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै यस्तो धारणा राख्नुभएको हो ।
ओलीले प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएर चुनाव लड्ने समूह निर्माण गर्नु र बलियो राजनीतिक संगठन बनाउनु फरक विषय भएको बताउनुभयो । उहाँले एमाले सशक्त संगठनसहित निर्वाचनमा सहभागी हुने दाबी गर्नुभयो । आगामी स्थानीय तह निर्वाचनमा जित सुनिश्चित गर्न नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन निर्देशन दिँदै उहाँले निर्वाचनसम्म आराम नगरी संगठन निर्माण र जनतामाझ पुग्न आग्रह गर्नुभयो ।
विगतका निर्वाचनमा चुनौती सामना गर्नुपरे पनि अहिले एमालेका नेता तथा कार्यकर्तामा जित्ने आत्मविश्वास बढेको उहाँको भनाइ थियो । उक्त आत्मविश्वासलाई चुनावी परिणाममा बदल्न निरन्तर मेहनत र सक्रियता आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘विभिन्न ठाउँका प्रभावकारी व्यक्ति खोजेर उम्मेदवार बनाउँदैमा पार्टी बन्दैन । चुनाव लड्ने क्लब बनाएर हिँडेका छन् । हामी भने सशक्त संगठन लिएर चुनावमा जाँदैछौँ,’ ओलीले भन्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया