हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

7 Shares

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता सुरु भएको हो ।

भेटवार्तामा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पारवहन, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई भेटवार्तामा प्राथमिकता दिइने जनाइएको छ ।

भेटवार्तामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गरिरहेका छन् । नेपाली टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी छन् ।

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशङ्करसहित उच्च सरकारी अधिकारीहरू भेटवार्तामा सहभागी भएका छन् । दुवै देशका उच्च अधिकारीको सहभागितामा हुने छलफललाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यसअघि हैदराबाद हाउस पुगेका प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । औपचारिक स्वागतपछि दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो ।

प्रधानमन्त्रीस्तरीय भेटवार्तापछि नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय छलफल हुने कार्यक्रम रहेको छ । उक्त छलफलमा दुई देशबीचको सहकार्यका विभिन्न क्षेत्र, आपसी समझदारी तथा आगामी कार्ययोजनाका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसक्रममा भेटवार्ताका उपलब्धि, आपसी सहमति तथा दुई देशबीचको सम्बन्धका आगामी प्राथमिकताबारे जानकारी गराइने अपेक्षा गरिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोज कार्यक्रममा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन् । भ्रमणको औपचारिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत तय भएको छ ।

यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । राजकीय भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई प्रदान गरिने उक्त सम्मानले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई दिइएको औपचारिक महत्त्वसमेत झल्काएको छ ।

नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ । खुला सीमा, व्यापार, पारवहन, ऊर्जा सहकार्य तथा जनस्तरको सम्बन्धका कारण दुवै देशबीचको साझेदारीलाई विशेष महत्त्वका साथ हेरिन्छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको आपसी विश्वास अभिवृद्धि, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा विकास साझेदारीलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा हुने छलफल र सहमतिले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाह आफ्नो दुईदिने राजकीय भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।