कन्याममा फस्टाउँदै घोडचढी व्यवसाय, ३९ किसानको आम्दानीको मुख्य स्रोत बन्यो पर्यटन

8 Shares

काठमाडौं । इलामको सूर्योदय नगरपालिका–७ स्थित पर्यटकीय क्षेत्र कन्याममा घोडचढी व्यवसाय फस्टाउँदै गएको छ । हरियाली चियाबारी, रमणीय प्राकृतिक दृश्य र पर्यटकको बढ्दो आकर्षणसँगै यहाँ घोडचढी सेवा सञ्चालन गर्ने किसानको सङ्ख्या पनि बढेको छ । परम्परागत खेतीपातीमा निर्भर किसानका लागि घोडचढी व्यवसाय अहिले आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ ।

कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडाको स्याहारसुसारबाट सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्ने उनको नियमित काम हो । त्यसपछि घोडा लिएर उनी कन्याम बजार पुग्छन् र दिनभर पर्यटकलाई घोडामा सवार गराउँदै कन्याम तथा आसपासका क्षेत्र घुमाउँछन् ।

दिनभर पर्यटकलाई सेवा दिएर कमाएको रकम लिएर उनी साँझ घर फर्कन्छन् । यसरी नै उनको दैनिकी चलिरहेको छ । परम्परागत रूपमा खेतीपाती गर्दै आएका तामाङका लागि पछिल्लो समय घोडचढी व्यवसाय आम्दानीको मुख्य स्रोत बनेको छ ।

उनका अनुसार घोडचढी सेवाबाट सरदर दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी हुन्छ । घोडालाई दानापानी खुवाउन दैनिक करिब एक हजार रुपैयाँ खर्च हुने भएकाले बाँकी रकम बचत हुने गरेको छ ।

‘बिहानदेखि साँझसम्म घोडालाई स्याहारसुसारदेखि पर्यटकलाई घोडामा चढाएर घुमाउनु आजकलको दैनिकी बनेको छ,’ उनले भने, ‘दिनभर पर्यटकलाई घोडा चढाएर सरदर दैनिक तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ । दैनिक घोडालाई दानापानी खुवाउन एक हजार रुपैयाँ खर्च हुन्छ । बाँकी बचत हुन्छ ।’

प्याकेजअनुसार पर्यटकलाई घुमाउने अवसर पाएको दिन भने पाँच हजार रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ । खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा आर्थिक आम्दानी मात्र नभई थप सन्तुष्टि र आनन्दसमेत मिलेको उनी बताउँछन् ।

३९ किसान घोडचढी व्यवसायमा आबद्ध

सोमबहादुरको जस्तै दैनिकी अहिले कन्यामका ३९ किसानको बनेको छ । घोडापालन गर्दै आएका किसान बिहानदेखि बेलुकासम्म पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुन्छन् । घोडाको स्याहारसुसार गर्ने, पर्यटकको मागअनुसार घुमाउने र त्यसबाट आम्दानी गर्ने उनीहरूको नियमित काम बनेको छ ।

पछिल्लो समय कन्याम घुम्न आउने पर्यटकमध्ये धेरैले घोडचढीको अनुभवसमेत लिन थालेका छन् । चियाबारी ट्रेलमा घोडा चढेर घुम्ने, फोटो तथा भिडियो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढ्दै जाँदा व्यवसायीको आम्दानीमा पनि वृद्धि भएको छ ।

पर्यटकको आकर्षण बढेसँगै घोडचढी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायीले सङ्घसमेत गठन गरेका छन् । घोडचढी सेवाको शुल्क निर्धारण गर्ने, व्यवसायीलाई सङ्गठित गर्ने र व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले घोडचढी व्यवसायी सङ्घ गठन गरिएको हो ।

सङ्घका कोषाध्यक्ष डिकबहादुर तामाङका अनुसार पर्यटकले घुम्न चाहेको दूरी र प्याकेजअनुसार विभिन्न शुल्क निर्धारण गरिएको छ । घोडामा चढेर फोटो खिचेको मात्र ५० रुपैयाँ, १० मिनेट घुमेको १०० रुपैयाँ र स्पोर्ट राउन्डका लागि ३०० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, हरियाली चियाबगान घुम्न ६०० रुपैयाँ तथा कन्यामका विभिन्न क्षेत्र समेटिएको प्याकेजका लागि दुई हजार ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म शुल्क लिने गरिएको उनले जानकारी दिए ।

‘सङ्घको निर्णयअनुसार हामीले विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरेका छौँ । ५० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मको प्याकेज छ,’ उनले भने ।

व्यवसायीले आम्दानी तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित शुल्कसमेत स्थानीय तहमा बुझाउँदै आएका छन् । कोषाध्यक्ष तामाङका अनुसार उनीहरूले नगरपालिकामा वार्षिक एक हजार ४७० रुपैयाँ र सरसफाइ शुल्कबापत मासिक ८० रुपैयाँ तिर्ने गरेका छन् ।

खेतीपातीभन्दा सहज र पर्यटनसँग जोडिएको व्यवसाय

घोडचढी व्यवसायी सङ्घका अध्यक्ष तथा सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाले घोडचढी व्यवसाय आफूहरूको जीविकोपार्जनको मुख्य आधार बन्दै गएको बताए । कन्याम घुम्न आउने पर्यटकलाई घोडामा सवार गराएर विभिन्न स्थान घुमाउने कामबाट जीवनयापन गर्न सहज भएको उनको भनाइ छ ।

उनका अनुसार पर्यटकलाई उनीहरूले चाहेको स्थानसम्म घोडामा घुमाउने गरिन्छ । अन्य परम्परागत खेतीपातीको तुलनामा यो व्यवसाय सहज र आम्दानीका हिसाबले उपयोगी भएको उनले बताए ।

‘पर्यटकलाई घोडा चढाएर चाहेको स्थानमा घुमाउने गर्छौं । यो काम अन्य खेतीपातीको तुलनामा धेरै सहज छ,’ उनले भने, ‘घोडचढी व्यवसायबाट आम्दानी मात्र हुँदैन, नयाँनयाँ पर्यटकलाई घुमाउन र उनीहरूसँग भेटघाट गर्न पाउँदा मन आनन्दित हुन्छ ।’

कन्याममा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्मले घोडचढीको अनुभव लिने गरेका छन् । परिवारसहित घुम्न आउने पर्यटकका लागि पनि घोडचढी आकर्षणको एउटा हिस्सा बनेको छ ।

असोजदेखि जेठसम्म पर्यटकको चाप

कोसी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक कन्याम सूर्योदय नगरपालिका–७ मा अवस्थित छ । चारैतिर फैलिएका हरियाली चियाबारी र प्राकृतिक सौन्दर्यका कारण कन्याम आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

स्थानीय पर्यटन व्यवसायी टिका ओडारीका अनुसार सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको चाप बढी हुने गर्छ । यस अवधिलाई कन्यामको मुख्य पर्यटकीय सिजनका रूपमा लिने गरिएको छ ।

हरियाली चियाबारीले सजिएको कन्याममा वनभोज, घुमफिर, फोटो तथा भिडियो खिच्न र घोडचढीको अनुभव लिन दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । विशेषगरी चियाबारीको प्राकृतिक दृश्यमा रमाउन आउने पर्यटकका कारण यहाँका पर्यटनसम्बद्ध व्यवसायले गति लिएका छन् ।

पर्यटकको बढ्दो आगमनसँगै घोडचढी व्यवसाय पनि स्थानीय किसानका लागि आम्दानीको महत्त्वपूर्ण माध्यम बनेको छ । खेतीपातीमा मात्र निर्भर रहँदै आएका किसान पर्यटन व्यवसायमा समेत जोडिन थालेपछि स्थानीय स्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना भएका छन् ।

कन्यामको प्राकृतिक सौन्दर्य, चियाबारीको आकर्षण र घोडचढी सेवाबीचको सम्बन्धले यहाँको पर्यटनलाई थप आकर्षक बनाएको छ । घोडचढी व्यवसायलाई व्यवस्थित गर्दै पर्यटकलाई गुणस्तरीय सेवा दिन सके यसले स्थानीय किसानको आम्दानी बढाउनुका साथै कन्यामको पर्यटन प्रवर्द्धनमा समेत थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।