काठमाडौं । नेकपा एमालेले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सारेको छ । एमालेको मंगलवार बसेको स्थायी कमिटिको बैठकले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताए । राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाउने उनले बताए ।
उनकाअनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नेछन् । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उनले जानकारी दिए ।
उनकाअनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रश्तुत गर्नेछन् । त्यसैगरी, पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिए ।
बैठकमा भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराएको उनले बताए । राष्ट्रिय भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल नहुने उनले जानकारी दिए । उक्त विषय केन्द्रिय समितिले यसअघि नै टुंग्याइसकेकोले अब थप छलफल आवश्यक नरहेको उनको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया