नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

7 Shares

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय हावापानीमा राम्रो उत्पादन हुने, भात स्वादिलो र सुगन्धित हुने तथा परालसमेत पर्याप्त उत्पादन हुने भएपछि किसान यस जातको धान खेती विस्तार गर्न उत्साहित भएका हुन् ।

दुप्चेश्वर गाउँपालिका–६ स्थित बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनी क्षेत्रफलमा जेठोबुढो धान खेती गरेका छन् । उनीसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले पनि यही जातको धान लगाएका छन् ।

आचार्यले दुई वर्षअघि बागलुङबाट एक पाथी बीउ ल्याएर जेठोबुढो धानको खेती सुरु गरेका थिए । पहिलो वर्ष परीक्षणका रूपमा खेती गर्दा चार मुरी धान उत्पादन भएपछि उनी यस खेतीप्रति थप उत्साहित बने । त्यसपछि यस वर्ष छ पाथी बीउ प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा खेती विस्तार गरेका हुन् ।

उनले वैशाखको अन्तिम साता बीउ राखेर जेठको अन्तिम साता रोपाइँ गरेका थिए । मङ्सिरको पहिलो सातासम्म धान भित्र्याइसकेका आचार्यका अनुसार बीउ राखेदेखि धान पाकेर भित्र्याउन करिब छ महिना लाग्छ ।

आठ रोपनी क्षेत्रफलमा लगाइएको खेतीबाट यस वर्ष २० मुरी धान उत्पादन भएको उनले बताए । त्यसैगरी, १२० भारी परालसमेत उत्पादन भएको छ । धानको स्वाद, सुगन्ध र परालको राम्रो उत्पादनले यस खेतीप्रति उनको विश्वास बढाएको छ ।

‘जेठोबुढो धानको भात नरम, स्वादिलो र बास्नादार हुन्छ । आफैँले बीउ छानेर राखेका छौँ,’ आचार्यले भने ।

बजारमा राम्रो मूल्य पाउन सकिने सम्भावना र उत्पादनको गुणस्तरका कारण जेठोबुढो धान खेती विस्तार गर्न आफू उत्साहित भएको उनको भनाइ छ । इच्छुक किसानलाई खेती विस्तारका लागि आवश्यक बीउ सहुलियत शुल्कमा उपलब्ध गराउन सकिने पनि उनले बताए ।

स्थानीय हावापानी खेतीका लागि अनुकूल

दुप्चेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख सुदेश सुवेदीले स्थानीय हावापानी जेठोबुढो धान खेतीका लागि अनुकूल रहेकाले यसको विस्तारको सम्भावना प्रशस्त रहेको बताएका छन् । किसानले खेतीबाट उत्पादन लिन थालेसँगै रैथाने जातको धानप्रति चासो र आकर्षण बढ्नु सकारात्मक भएको उनको भनाइ छ ।

उनका अनुसार उत्पादन परिमाण केही कम भए पनि स्वाद, सुगन्ध, बजार मूल्य र पराल उत्पादनका दृष्टिले जेठोबुढो धान किसानका लागि लाभदायी हुन सक्छ ।

‘दुप्चेश्वरको हावापानी जेठोबुढो धान खेतीका लागि उपयुक्त छ । उत्पादन केही कम भए पनि स्वाद, सुगन्ध, बजार मूल्य र पराल उत्पादनका हिसाबले यो किसानका लागि लाभदायी हुन सक्छ,’ सुवेदीले भने, ‘त्यसैले रैथाने बीउ संरक्षण गर्दै यसको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहन र प्राविधिक सहयोग गर्नेछ ।’

गाउँपालिकाले स्थानीय जातका धान खेती विस्तारका लागि किसानलाई प्रोत्साहित गर्ने, आवश्यक बीउ व्यवस्थापनमा सहजीकरण गर्ने र खेतीसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने योजना बनाएको छ ।

समुन्द्रफिनी धान लोप हुने जोखिम

जेठोबुढो धान खेतीप्रति आकर्षण बढिरहेका बेला दुप्चेश्वरको शिखरबेँसी क्षेत्रको परम्परागत कृषि पहिचानका रूपमा रहेको समुन्द्रफिनी जातको धान खेती भने सङ्कटमा पर्दै गएको छ । खेती गर्न लामो समय लाग्ने र उत्पादन कम हुने भन्दै किसानले यसप्रति चासो घटाउँदै लगेपछि पुस्तौँदेखि संरक्षण हुँदै आएको रैथाने बीउ नै लोप हुने जोखिम बढेको हो ।

कृषि शाखा प्रमुख सुवेदीका अनुसार समुन्द्रफिनी धान शिखरबेँसी–दुप्चेश्वर क्षेत्रको मौलिक कृषि पहिचान बोकेको रैथाने जात हो । यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै जाँदा बीउ संरक्षणमा चुनौती थपिएको छ ।

‘समुन्द्रफिनी धान शिखरबेँसी–दुप्चेश्वरको मौलिक कृषि पहिचान बोकेको रैथाने जात हो । सो जातको धान खेती गर्ने किसान घट्दै जाँदा बीउ संरक्षणमा चुनौती थपिएको छ,’ सुवेदीले भने, ‘जेठोबुढाजस्तै समुन्द्रफिनी धानको खेती पनि पुनः विस्तार गरी रैथाने जातको संरक्षण गर्न आवश्यक छ ।’

उनका अनुसार गाउँपालिकाले जेठोबुढो र समुन्द्रफिनीजस्ता स्थानीय जातका धान खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गर्ने, आवश्यक बीउको व्यवस्थापनमा सहजीकरण गर्ने तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

रैथाने बीउ संरक्षणसँगै किसानको आम्दानी बढाउने लक्ष्य

स्थानीय जातका धानको संरक्षण गर्नु कृषि विविधता र स्थानीय पहिचान जोगाउनुका साथै किसानको आयआर्जनसँग पनि जोडिएको विषय हो । उत्पादन, गुणस्तर र बजारको सम्भावनालाई ध्यानमा राखेर खेती विस्तार गर्न सके किसानलाई आर्थिक लाभ पुग्ने र पुस्तौँदेखि जोगिँदै आएका बीउसमेत संरक्षण गर्न सकिने कृषि शाखा प्रमुख सुवेदीको भनाइ छ ।

‘रैथाने जातका धान खेतीलाई निरन्तरता दिन किसानलाई प्रोत्साहित गर्न आवश्यक छ । उत्पादन, गुणस्तर र बजारको सम्भावनालाई जोडेर खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउनाका साथै स्थानीय बीउ जोगाउन सकिन्छ,’ उनले भने ।

जेठोबुढो धानको खेतीबाट प्राप्त सकारात्मक परिणामले दुप्चेश्वरका अन्य किसानलाई पनि स्थानीय जातको धान खेतीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, समुन्द्रफिनीजस्ता परम्परागत जातको संरक्षण र पुनः खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहन तथा सहयोग गर्न सके स्थानीय कृषि पहिचानलाई निरन्तरता दिन सहज हुने देखिन्छ ।

रैथाने धानको बीउ संरक्षण, खेती विस्तार र बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउन सके नुवाकोटका मौलिक कृषि उपजको पुनःस्थापना हुनुका साथै किसानको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।