बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

9 Shares

काठमाडौं । बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले खेतबारीमा लगाएको मस्याङ (दाल) राम्रोसँग पाक्न नपाउँदै काटेर भित्र्याउन थालेका छन् । बाँदरबाट बाली जोगाउन नसकेपछि किसानले उत्पादन घट्ने जोखिम मोलेरै हरियो अवस्थाको मस्याङ काट्नुपर्ने बाध्यता व्यहोर्नुपरेको छ ।

धानबाली भित्र्याउने चटारो चलिरहेका बेला खेतको आलीमा लगाइएको मस्याङसमेत बाँदरले नष्ट गर्न थालेपछि किसान थप समस्यामा परेका हुन् । धानसँगै अतिरिक्त आम्दानी गर्ने उद्देश्यले खेती गरिएको मस्याङ बाली बाँदरबाट जोगाउन दिनभर निगरानी गर्नुपर्ने अवस्था आएपछि किसान समयअगावै बाली भित्र्याउन बाध्य भएका छन् ।

रामप्रसाद राई गाउँपालिका–४ दलगाउँकी किसान गोमादेवी कार्कीले बाँदरका कारण खेतमा लगाएको मस्याङ जोगाउन निकै समस्या भएको बताइन् । उनले धानबालीसँगै खेतको आलीमा मस्याङ खेती गरेकी थिइन् । तर, धान भित्र्याइसकेपछि बाँदरको उपद्रो अझ बढ्ने र बाली जोगाउन झनै कठिन हुने भएकाले मस्याङका कोसा राम्ररी नपाक्दै काट्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

सामान्यतया मस्याङका कोसा राम्रोसँग सुकेपछि मात्र काटेर दाना निकाल्ने र भण्डारण गर्ने गरिन्छ । तर, बाँदरले बालीमा क्षति पुर्‍याउन थालेपछि किसानले पाक्ने समय कुर्नसमेत नपाएको अवस्था छ ।

भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले पनि बाँदरको समस्याका कारण मस्याङ खेतीबाट अपेक्षित उत्पादन लिन कठिन भएको बताइन् । धान थन्क्याउने काममा व्यस्त हुनुपर्दा खेतको आलीमा लगाएको मस्याङको नियमित निगरानी गर्न नसकिएको उनले सुनाइन् ।

थापाले करिब १४ रोपनी खेतको आलीमा मस्याङ खेती गरेकी छन् । अतिरिक्त आम्दानी गर्ने उद्देश्यले धानसँगै लगाएको मस्याङ बाँदरले नष्ट गर्न थालेपछि बाँकी रहेको बालीसमेत हरियो अवस्थामै काट्नुपरेको उनले बताइन् ।

यस वर्ष करिब डेढ मुरी मस्याङ उत्पादन हुने अनुमान गरेकी थापाले समयअगावै बाली काट्नुपर्दा उत्पादनमा कमी आउने बताइन् । उनका अनुसार भोजपुरको स्थानीय बजारमा मस्याङ प्रतिकिलो १८० देखि २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

मस्याङ राम्रोसँग पाकेर उत्पादन लिन सकेको अवस्थामा किसानले राम्रो आम्दानी गर्न सक्ने भए पनि बाँदरको आतंकले अपेक्षित आम्दानी प्रभावित हुने उनको चिन्ता छ । बजारमा राम्रो मूल्य पाइने भएकाले मस्याङ खेतीलाई अतिरिक्त आम्दानीको स्रोत बनाएका किसान अहिले बाली जोगाउनै मुस्किल भएपछि निराश बनेका छन् ।

धानबालीसँगै खेतको आलीमा मस्याङ खेती गर्दा एउटै जमिनबाट दुई प्रकारका कृषि उत्पादन लिन सकिने भएकाले भोजपुरका किसानले यसलाई अतिरिक्त आम्दानीको माध्यम बनाउँदै आएका छन् । तर, बाँदरको बढ्दो गतिविधिले यस्तो खेतीसमेत जोखिममा परेको छ ।

अपरिपक्व बाली काट्दा उत्पादन र गुणस्तरमा असर

किसानका अनुसार मस्याङका कोसा राम्रोसँग सुकेपछि मात्र काट्दा दाना पूर्ण रूपमा विकसित हुने, तौल राम्रो हुने र भण्डारण गर्न पनि सहज हुन्छ । तर, बाँदरबाट हुने क्षति रोक्न हरियो अवस्थामै बाली काट्नुपर्दा दाना राम्रोसँग नपाक्ने समस्या देखिएको छ ।

अपरिपक्व अवस्थामा काटिएको मस्याङमा दानाको आकार र तौल घट्ने तथा उत्पादनको गुणस्तरमा समेत असर पर्ने किसानको चिन्ता छ । यसले बजारमा बिक्री गर्दा अपेक्षित मूल्य नपाउने र खेतीमा गरेको लगानीअनुसार आम्दानी नहुने जोखिम बढाएको छ ।

एकातिर धानबाली भित्र्याउने समयको चटारो, अर्कोतिर बाँदरबाट मस्याङ जोगाउनुपर्ने बाध्यताले किसानको काम र लागत दुवै बढाएको छ । दिनभर खेतमा बसेर बाँदर धपाउन नसक्ने अवस्थामा किसानले बाली काटेर सुरक्षित राख्नुलाई नै विकल्प बनाउन थालेका छन् ।

कृषि उत्पादनबाट आम्दानी बढाउने उद्देश्यले मेहनतपूर्वक खेती गरेका किसानलाई बाँदरको उपद्रोले निरन्तर निराश बनाएको छ । खेतबारीमा लगाएको बाली पाक्न नपाउँदै नष्ट हुने वा समयअगावै काट्नुपर्ने अवस्थाले किसानको कृषि पेसाप्रतिको उत्साहसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

भोजपुरका किसानका लागि बाँदरको समस्या अहिले एउटा बालीमा मात्र सीमित नरही कृषि उत्पादन र जीविकोपार्जनसँग जोडिएको चुनौती बनेको छ । बाली संरक्षणका प्रभावकारी उपाय तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पहल हुन नसके किसानले आगामी दिनमा खेतीको क्षेत्रफल घटाउनुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।