बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयसँग भएको सहमति १५ दिनमा पूरा गर्छौंः मन्त्री घिसिङ

56 Shares

काठकाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासिन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । 
आईतवार बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गर्ने क्रममा उनले स्थानीयका मागहरु १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले वातावरणीय प्रभाव मूल्याङ्कन बाहेक अन्य मागहरु १५ दिनभित्र पूरा गर्ने बताएका छन् । उनले वातावरणीय प्रभाव मूल्याङ्कन भने पुस महिनापछि हुने बताएका छन् ।  सो कार्यको लागि परामर्शदाता छनौट गरी काम भइरहेको समेत जानकारी दिएका छन् । ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार चरणको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने उको भनाई छ । यसैगरी,ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सहमति गर्ने तर त्यसलाई कार्यन्वयन नगर्ने प्रचलन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । नागरिकले आन्दोलन नगरेसम्म निदाएर बस्ने प्रचलन अन्त्य गर्नुपर्ने उनको माग थियो । स्थानीयले नयाँ कुनै माग नराखेको भन्दै उनले सरकारसँग विगतमा भएको जमिनको रेखाङ्कन, मूल्याङकन, अधिकरण, निक्षेपको व्यवस्थापन सम्बन्धि भएको सहमति कार्यन्वयन गर्न आग्रह गरेका छन् ।