अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि थप सैन्य आक्रमण गर्न रोक लगाउने उद्देश्यसहित ल्याइएको युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा बिहीबार भएको मतदानमा प्रस्तावको पक्षमा ४८ र विपक्षमा ५१ मत परेको थियो ।
तीन रिपब्लिकन सिनेटर सुसान कोलिन्स, लिसा मुर्कोव्स्की र ¥यान्ड पलले डेमोक्र्याटिक सांसदहरूसँगै प्रस्तावको पक्षमा मतदान गरेका थिए । यता डेमोक्र्याटिक सिनेटर जोन फेटरम्यानले भने प्रस्तावको विपक्षमा मत दिएका थिए । अमेरिकी प्रतिनिधिसभाले गत सेप्टेम्बरमा उक्त प्रस्ताव पारित गरेको थियो ।
तर सिनेटबाट अस्वीकृत भएपछि ट्रम्पलाई इरानमाथि थप सैन्य कारबाही गर्न रोक लगाउने प्रयास असफल भएको छ । इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य बढ्नु रिपब्लिकन पार्टीको चुनावी पराजयको एउटा कारण मानिएको छ ।
युद्धप्रति अमेरिकी जनताको असन्तुष्टिका कारण चुनावमा क्षति पुगेको स्वीकार गरे पनि रिपब्लिकन नेताहरूले इरानसम्बन्धी आफ्नो अडान परिवर्तन नगरेको द न्युयोर्क टाइम्सले जनाएको छ । फेब्रुअरी २८ मा इरानसँग द्वन्द्व सुरु भएयता अमेरिकी संसद्मा युद्ध अधिकारसम्बन्धी प्रस्तावमाथि २१ पटक मतदान भइसकेको छ । जसमध्ये प्रतिनिधिसभामा ६ र सिनेटमा १५ पटक मतदान भएको थियो ।
यसअघि जुन २३ मा अमेरिकी सिनेटले इरानमाथि थप सैन्य कारबाही गर्नुअघि कंग्रेसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने प्रस्ताव पारित गरेको थियो। द्वन्द्व सुरु भएयता दुवै सदनबाट यस्तो प्रस्ताव पारित भएको त्यो पहिलो अवसर थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया