तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

14 Shares

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का व्यावसायिक तरकारीखेतीबाट सफल किसानका रूपमा स्थापित हुँदै गएका छन्। सामान्य लगानीबाट एक कट्ठा जमिनमा तरकारीखेती सुरु गरेका खड्काले अहिले तीन बिघा क्षेत्रफलमा व्यावसायिक खेती गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।

करिब एक दशकअघि जम्मा ५०० रुपैयाँ लगानी गरेर तरकारीखेती सुरु गरेका खड्काले पहिलो उत्पादन बिक्रीबाट १० हजार रुपैयाँ आम्दानी गरेका थिए। थोरै लगानीमा राम्रो आम्दानी भएपछि उनी क्रमशः तरकारीखेती विस्तारतर्फ आकर्षित भए। अहिले उनको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती बनेको छ।

विसं २०७२ देखि व्यावसायिक रूपमा तरकारीखेतीमा लागेका खड्काका अनुसार धान र गहुँ खेतीको तुलनामा तरकारीखेतीबाट तीन गुणासम्म बढी आम्दानी हुने भएपछि उनी यस व्यवसायमा निरन्तर लागेका हुन्।

सुरुआतमा एक कट्ठा जमिनबाट खेती थालेका खड्काले बिस्तारै उत्पादन क्षेत्र बढाउँदै लगे। यसैबीच कोरोना महामारीका कारण रोजगारीका लागि भारत गएका उनका दुई छोरा पनि स्वदेश फर्किएपछि परिवारका सदस्य मिलेर खेती विस्तार गरेको उनले बताए।

‘एक कट्ठादेखि सुरु गरेको खेती विस्तार गर्दै लगेको थिएँ, त्यसपछि कोरोना महामारी आयो। कोरोनाका कारण रोजगारीका लागि भारतमा रहेका दुई छोरा घर फर्किए। त्यसपछि परिवारका सबै मिलेर तरकारीखेतीलाई अझ विस्तार गर्दै लग्यौँ’, खड्काले भने।

हाल तीन बिघा जमिनमा विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका खड्काले खेतीबाट प्राप्त आम्दानीले घरपरिवारको खर्चसँगै छोराछोरीको शिक्षादीक्षाको जिम्मेवारीसमेत पूरा गर्दै आएका छन्।

उनका अनुसार तरकारी बिक्रीबाट खेतीमा लागेको खर्च तथा अन्य लागत कटाएर वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। यही आम्दानीबाट उनले छोरालाई विदेश पठाउन २० लाख रुपैयाँ खर्च गरेका छन् भने घर निर्माणसमेत गरेका छन्।

‘सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। यही आम्दानीले २० लाख रुपैयाँ लगानी गरेर छोरा विदेश पठाएँ, घर पनि बनाएँ’, उनले भने, ‘पहिला साइकलमा सागसब्जी बोकेर बजार पुर्‍याउँथेँ, अहिले तीनवटा मोटरसाइकल जोडेँ। ५० प्रतिशत अनुदानमा अटोरिक्सासमेत किनेको छु।’

तरकारीखेतीले खड्काको आर्थिक अवस्था मात्रै सुधार गरेको छैन, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नसमेत सहयोग पुर्‍याएको छ। उनले दुई जनालाई मासिक १५ हजार रुपैयाँ तलब दिने गरी नियमित रोजगारी दिएका छन्। त्यस्तै, खेतीको काम र उत्पादन सङ्कलनका क्रममा ज्यालादारीमा वर्षभरिमा करिब १०० जनाले रोजगारी पाउने गरेको उनले जानकारी दिए।

तरकारी उत्पादनपछि बिक्री वितरणका लागि बजारको ठूलो समस्या नरहेको खड्काको अनुभव छ। स्थानीय बजारमा उत्पादन बिक्री हुँदै आए पनि खुला सीमाका कारण भारतबाट आयात हुने तरकारीले नेपाली किसानलाई उचित मूल्य पाउन कठिन बनाएको उनको गुनासो छ।

‘भारतबाट आयात हुने सागसब्जीका कारण हामीले उत्पादन गरेको तरकारीको सोचेजस्तो मूल्य पाउन सक्दैनौँ। हाम्रो उत्पादन लागत बढी हुन्छ तर बजारमा सस्तोमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ’, खड्काले भने।

उनका अनुसार भारतीय बजारबाट आउने सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्दा स्थानीय किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। बीउ, मल, सिँचाइ, श्रम तथा अन्य उत्पादन लागत बढ्दै गएको अवस्थामा सस्तो मूल्यमा तरकारी बिक्री गर्नुपर्दा किसानको नाफा प्रभावित हुने गरेको छ।

खड्काले आफ्नो खेतमा काउली, बन्दा, ब्रोकाउली, आलु, प्याज, भन्टा, खुर्सानीलगायत विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएका छन्। मौसमअनुसार खेती व्यवस्थापन गर्दै उत्पादनलाई बजारमा पुर्‍याउने गरेका उनले बेमौसमी तरकारीखेतीबाट अझ राम्रो आम्दानी लिन सकिने अनुभव सुनाए।

‘सिजनमा भन्दा पनि अफ सिजनमा सागसब्जी उत्पादन गर्न सके पर्याप्त आम्दानी हुन्छ’, उनले भने।

तरकारीखेतीमा विभिन्न जोखिमसमेत रहने भएकाले सरकारले किसानलाई कृषि बिमाको सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउनुपर्ने खड्काको माग छ। प्राकृतिक प्रकोप, रोग तथा कीराको प्रकोप र मौसममा हुने परिवर्तनका कारण खेतीमा क्षति पुग्दा किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनले सरकारले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमसँगै खेतीको बिमा, अनुदान, सिँचाइ सुविधा र बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।

सानो लगानीबाट सुरु गरेको व्यवसायलाई निरन्तर मेहनत, पारिवारिक सहयोग र अनुभवका आधारमा विस्तार गर्दै आएका खड्काको सफलताले व्यावसायिक तरकारीखेती ग्रामीण क्षेत्रमा रोजगारी र आर्थिक आत्मनिर्भरताको महत्त्वपूर्ण आधार बन्न सक्ने देखाएको छ। तर स्वदेशी उत्पादनले उचित बजार मूल्य पाउने वातावरण निर्माण गर्नु र किसानको लगानी सुरक्षित गर्नु भने अहिले पनि चुनौतीका रूपमा रहेको छ।