काठमाडौं । यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ ।
तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ । उनका अनुसार पहिलेका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत खपत पनि बढ्थ्यो । तर अहिले उद्योग, होटल, रेस्टुरेण्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ । यद्यपी विद्युत मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताएका छन् । उनका अनुसार पहिलेको जस्तो विद्युत प्रणाली कमजोर छैन । त्यसैले, तिहारका समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणले लिएको छ । सिलवालकाअनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको छ । नियमित विद्युत आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछ । प्राधिकरणले यस्ता पर्वका समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेशन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उहाँको भनाइ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया