काठमाडाैं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली (एनआएनए) नागरिकतासमेत नेपाली नागरिकताकै एक रूप भएको बताउँदै सरकारले आवश्यक अधिकार सुनिश्चित गर्न कानून बनाउने तयारी भइरहेको बताउनुभएको छ।
नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा मन्त्री लेखकले यस्तो बताउनुभएको हो । संविधानले गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेकका अधिकार दिने व्यवस्था गरे पनि व्यवहारमा उनीहरूले सेवा प्राप्त गर्न कठिनाइ भोग्नुपरेको उहाँको भनाइ छ ।
मन्त्री लेखकका अनुसार गैरआवासीय नेपालीको नागरिकता सार्थक र संविधानको भावनाअनुसार हुने गरी ऐन बनाउन विधेयकको मस्यौदा सुझावका लागि विभिन्न मन्त्रालयमा पठाइएको छ । उहाँले वर्तमान ऐनले अधिकारको सुनिश्चितता नगरेको स्वीकार गर्दै नयाँ ऐनमार्फत सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिने स्पष्ट पार्नुभयो ।
सरकार गैरआवासीय नेपालीलाई कानूनीरूपमा समावेश गर्न र उनीहरूको योगदानलाई संस्थागत गर्न प्रतिबद्ध रहेको मन्त्री लेखकको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया