काठमाडाैं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले पूर्वाधार विकास तथा पर्यटन उद्योगलाई पर्यावरणमैत्री हुनेगरी नीति तथा कार्यक्रममा समावेश गर्न सरकारलाई सुझाव दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो सुझाव दिएको हो । बैठकले विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न उपयुक्त वातावरण सिर्जना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा कुनै दुई वा तीन कृषि बालीमा आत्मनिर्भर हुनेगरी ठोस नीति तथा कार्यक्रमको घोषणा गर्न सुझाव दिएको छ । बैठकले कृषि उपजको आयात कम गर्दै लैजाने करमार्फत स्वदेशी कृषि उपजलाई संरक्षण दिँदै कृषि उपजको निर्यातमा जोड दिनसमेत सुझाव दिएको छ ।
बैठकले शुद्ध र पर्याप्त पिउने पानी (एक घर एक धारा कार्यक्रम)को पूर्णरुपमा कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले आगामी आर्थिक वर्षमा जलविद्युत आयोजनालाई पूर्ण प्राथमिकता दिई बुढीगण्डकी, तमोर, उत्तरगंगा, कर्णाली, पश्चिम सेतीजस्ता आयोजनाको निर्माण निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने कार्यतालिका बनाएर अगाडि बढ्नसमेत सरकारको ध्यानाकर्षण गरेको छ । त्यस्तै संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न शिक्षा नीतिमा आवश्यक सुधार गरी वैज्ञानिक, व्यवहारिक, सीपमुलक एवं रोजगार मुलक बनाउन सुझाव दिएको छ ।
बुधवारको समिति बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया