काममा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गर्छौं ः मन्त्री लम्साल

41 Shares

काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणमा ढिलासुस्ती गर्ने र संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीमाथि सरकारले कडा कदम चाल्ने भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कमजोर कार्यसम्पादन गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरी बाँकी कामका लागि पुनः टेन्डर प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभएको छ ।

महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले केही निर्माण कम्पनीको लापरबाही र बढिलासुस्तीका कारण राष्ट्रिय गौरवको आयोजना नै आलोचनाको विषय बन्न पुगेको बताउनुभयो । अब निर्माण व्यवसायीलाई पटक–पटक समय थप्ने र अतिरिक्त सुविधा उपलब्ध गराएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको उहाँको भनाइ थियो ।

द्रुतमार्गका प्याकेज नम्बर ९ए, ९बी र ८बी लगायतका केही खण्डमा निर्माण व्यवसायीको कार्यप्रगति सन्तोषजनक छैन । सम्बन्धित कम्पनीलाई पटक–पटक सचेत गराउनुका साथै स्थलगत अनुगमन, ताकेता र पत्राचारसमेत गर्दा पनि सम्झौताअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो ।

संशोधित कार्यतालिका निर्माण कम्पनी आफैँले प्रस्तुत गरेको उल्लेख गर्दै मन्त्री लम्सालले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसक्ने कम्पनीलाई अब थप अवसर दिनुको औचित्य नरहेको धारणा राख्नुभयो ।

आगामी जेठसम्म सम्बन्धित ठेक्कामा उल्लेख्य प्रगति हुनुपर्ने र निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने अवस्था देखिए ठेक्का अन्त्य गर्न नेपाली सेनालाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।