काठमाडौं । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । समितिले जिल्लाका दुई आधारभूत विद्यालयलाई प्रतिविद्यालय ३० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
समितिका अनुसार फुङ्लिङ नगरपालिका–३ स्थित मेदिबुङ आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकास्थित पाटी आधारभूत विद्यालयलाई ३०/३० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरिएको छ । दुवै विद्यालयलाई गरी कुल ६० हजार रुपैयाँ बराबरका सामग्री सहयोग गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिद्वारा स्थापना गरिएको एक करोड रुपैयाँ बराबरको पाथीभरा देवी अक्षय कोषबाट प्राप्त ब्याज रकम प्रयोग गरी शैक्षिक सामग्री खरिद गरेर वितरण गरिएको समितिले जनाएको छ । अक्षय कोषको ब्याजबाट प्राप्त रकमलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गर्ने उद्देश्यअनुसार विद्यालयहरूलाई सहयोग गरिएको हो ।
मङ्गलबार आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले मेदिबुङ आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद गिरी र पाटी आधारभूत विद्यालयका प्रधानाध्यापक दिलबहादुर पालुङ्वालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने तथा शैक्षिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले शैक्षिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । केही दिनअघि मात्रै समितिले नेत्रहीन सङ्घ ताप्लेजुङलाई ल्यापटप प्रदान गरेको थियो ।
त्यसैगरी, फुङ्लिङ नगरपालिका–४ स्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिका बस्ने आवास मर्मतका लागि ६० हजार रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो ।
समितिका कार्यकारी निर्देशक हाङबाङका अनुसार शिक्षा, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको अक्षय कोषबाट प्राप्त ब्याज रकम सामाजिक र शैक्षिक क्षेत्रमा खर्च गरिँदै आएको छ ।
उनले अक्षय कोषको ब्याजबाट प्राप्त रकमलाई समुदायको आवश्यकता र प्राथमिकताका आधारमा उपयोग गर्दै शिक्षा तथा सामाजिक विकासका गतिविधिलाई निरन्तरता दिइने बताए ।
पाथीभरा क्षेत्र विकास समितिको यस पहलले दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया