चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट अचानक ढुङ्गा खसेको थियो।
अचानक खसेको ढुङ्गाले लाग्दा मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।
तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिएका छन्।
पृथ्वी राजमार्गको घोप्टेभिर क्षेत्रमा माथिबाट ढुङ्गा खस्दा भएको यस घटनाले राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकको सुरक्षामाथि पुनः प्रश्न उठाएको छ। विशेषगरी पहाडी तथा भिरालो सडकखण्डमा माथिबाट ढुङ्गा खस्ने जोखिम रहने भएकाले सवारी चालकलाई सतर्कता अपनाउन आवश्यक देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया