एनपीएलः इलिमिनेटरमा आज चितवन र काठमाण्डु खेल्दै

8 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशको सम्भावना कायम राख्न आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको एलिमिनेटर खेलमा दुवै टोली जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । प्रतियोगिताको यस चरणमा दुवै टोलीका लागि जित अनिवार्य रहेकाले खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आजको खेलमा पराजित हुने टोलीको एनपीएल यात्रा समाप्त हुनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ । त्यसैले काठमाडौं र चितवन दुवै टोलीका लागि यो खेल गर या मरको अवस्थामा रहेको छ ।

यसअघि सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्स दोस्रो क्वालिफायरमा आफ्नो प्रतिद्वन्द्वी पर्खिरहेको छ । आजको एलिमिनेटर खेलमा विजयी हुने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार हुने फाइनलमा प्रवेश गर्नेछ । फाइनलमा यसअघि नै स्थान बनाइसकेको लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

लिग चरणको प्रदर्शनका आधारमा काठमाडौं गोर्खाज अंकतालिकाको तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो । काठमाडौंले सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो ।

त्यस्तै, चितवन राइनोज लिग चरणमा चौथो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको हो । चितवनले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो भने वर्षाका कारण एक खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

लिग चरणमा दुवै टोलीले आ–आफ्नो प्रदर्शनबाट प्लेअफसम्मको यात्रा तय गरेका हुन् । अब भने उपाधि यात्रालाई जीवित राख्न दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

आजको खेलमा काठमाडौं गोर्खाज आफ्नो लय कायम राख्दै दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ भने चितवन राइनोज पनि जित निकालेर उपाधि दौडमा अघि बढ्न चाहन्छ । दुवै टोलीका खेलाडी र समर्थकका लागि महत्वपूर्ण मानिएको एलिमिनेटर खेलले एनपीएलको फाइनल समीकरणलाई थप रोचक बनाउनेछ ।