राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणले गति लिएको छ । आयोजनाको समग्र भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ भने निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ३ हजार ४२२ मिटर लामो भागमा ब्रेकथ्रु सम्पन्न भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सुरुङको ब्रेकथ्रु गर्दै निर्माण कार्यको महत्वपूर्ण चरण पूरा भएको घोषणा गर्नुभएको थियो ।
आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये तीन स्थानका पाँचवटा सुरुङमा यसअघि नै ब्रेकथ्रु भइसकेको नेपाली सेनाले जनाएको छ । महादेवटार सुरुङ जोडिएसँगै सुरुङ निर्माणको कामले थप गति लिने र समग्र आयोजनाको प्रगतिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । द्रुतमार्गका अधिकांश संरचनाको जग तथा आधारभूत निर्माण कार्य सम्पन्न भइसकेको छ ।
उच्च प्रविधिमा आधारित पुल, सुरुङ तथा अन्य पूर्वाधार निर्माणलाई पनि तीव्रता दिइएको छ । विशेषगरी जटिल भौगोलिक संरचना भएका क्षेत्रमा निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सेनाको भनाइ छ । ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद मुख्य अवरोधका रूपमा देखिएको छ ।
उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक निर्माणको विषय टुंगोमा पुग्न नसक्दा काम प्रभावित भएको हो । विवाद समाधानका लागि सम्बन्धित पक्षसँग छलफल तथा पहल भइरहेको र समस्या सुल्झिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने नेपाली सेनाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया