आज चैते दशैं: नवदुर्गा भगवतीको पूजा आराधनासहित देशभर श्रद्धा र भक्तिभाव

136 Shares

काठमाडौं । आज प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व नवदुर्गा भगवतीको पूजा–आराधना गरी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । यस पर्वलाई चैत्र नवरात्रको महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ ।

धार्मिक मान्यताअनुसार वर्षमा चार नवरात्र पर्छन् । तीमध्ये असोज शुक्ल पक्षको नवरात्रलाई सबैभन्दा बढी महत्व दिइन्छ, जसलाई बडादशैंका रूपमा मनाइन्छ । आसाढ र पुस महिनामा पर्ने नवरात्र भने कम प्रचलनमा रहे पनि केही साधकहरूले ती समयमा पनि शक्ति स्वरूपा देवीको उपासना गर्ने गर्छन् ।

बडादशैंमा प्रतिपदादेखि घटस्थापना गरी जमरा राख्ने र दशमीका दिन मान्यजनबाट टीका–जमरा लगाउने परम्परा रहन्छ । तर चैते दशैंमा यो चलन सबै परिवारमा व्यापक छैन । यद्यपि हनुमानढोका दरबार को दशैंघरमा भने विधिवत् घटस्थापना गरी अष्टमीका दिन विशेष पूजा र बलि दिने परम्परा रहिआएको छ ।

चैते दशैंमा अष्टमी र नवमी विशेष रूपमा मनाइन्छ । अष्टमीलाई चैते दशैंका रूपमा मनाइन्छ भने नवमीलाई भगवान श्रीराम को जन्मदिनका रूपमा रामनवमी मनाउने गरिन्छ । धार्मिक मान्यताअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याका ज्येष्ठ पुत्रका रूपमा श्रीरामको जन्म नवमीकै दिन भएको विश्वास गरिन्छ ।

चैते दशैंको पूजा–उपासनाको उद्देश्य पनि बडादशैंजस्तै लोकमा सुख, शान्ति र समृद्धि तथा परलोकमा सद्गति प्राप्त गर्ने विश्वाससँग जोडिएको छ । यस अवसरमा परिवारका सदस्यबीच जमघट हुने, देवी–देवताका मन्दिरमा दर्शन गर्ने परम्परा रहिआएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठहरू जस्तै गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, भद्रकाली मन्दिर, कालिकास्थान, शोभा भगवती मन्दिर लगायतका स्थानमा आज विशेष पूजा भइरहेको छ ।

त्यसैगरी उपत्यका बाहिरका शक्तिपीठहरू जस्तै मनकामना मन्दिर, पालाञ्चोक भगवती मन्दिर, चण्डेश्वरी मन्दिर, शैलेश्वरी मन्दिर लगायतमा पनि श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

धार्मिक विश्वासअनुसार चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा–आराधना तथा दर्शन गरेमा मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वास रहेको छ ।